खेल


मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रव्यापी खेल प्रतियोगिता गर्ने

मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रव्यापी खेल प्रतियोगिता गर्ने

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १८:३९, काठमाडौँ

मदन भण्डारी स्पोर्टस् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो। खेल पर्यटनलाई विकास गर्न सके देशको अर्थतन्त्र वृद्धिमा टेवा पुर्‍याउन सकिने एकेडेमीले जनाएको छ। एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ।

यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ। रोड रेसमा यु–२० र यु–१६ उमेर समूहमा प्रतिस्पर्धा हुने भएको छ। पोखरा वा काठमाडौँमा चैत २५ गतेदेखि आगामी वर्षको वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट हुने भएको छ। यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र सेमिफाइनलिस्टले समान २ लाख पाउनेछन्। बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता सुरु हुनेछ। एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो। उक्त प्रतियोगिता बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म आयोजना हुने तय छ।

यस प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना पुरस्कार स्वरुप एक टोलीले एक लाख रुपैयाँ पाउनेछन्। बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

भारतको रेलवे टोलीले भलिबलमा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। साथै एकेडेमीले सातै प्रदेशमा ३२औँ मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ।

यी कार्यक्रम आयोजना गर्न अनुमानित करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ लागत लाग्ने आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने उल्लेख गरेको छ। उनले सात प्रदेशमा खेल प्रतियोगिता हुने र ती प्रतिस्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराउने बताए।

निर्धारित समयभित्र नै खेल प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ। एकेडेमीले अघिल्लो आर्थिक वर्षमा १२ विधा खेल आयोजना गरेको थियो। एकेडेमीले यसपल्ट बढाएर १८ खेल विधाको प्रतियोगिता, समान एक प्रशिक्षण र सामाजिक कार्यक्रम समावेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad