नेपाल क्रिकेट संघले वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार काठमाडौं आउने जानकारी दिएको छ।
एक प्रेस वक्तव्यमार्फत क्यानले भोलि बिहान ८ः२० मा त्रिभुवन विमानस्थलमा उनको स्वागत गर्नलागेको जानकारी दिएको हो।
क्यानका अनुसार उनले जारी नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु प्रत्यक्ष हेर्नेछन्।
लाराको आगमनलाई क्यानले विशेष महत्त्व दिएको छ। यसले नेपाली क्रिकेट समर्थकमा उत्साह मात्र नभरी नेपाली क्रिकेटको महत्त्व अझ बढाउने क्यानको विश्वास छ।
ट्रिनिडाडका ५५ वर्षीय लारा अन्तर्राष्ट्रिय क्रिकेटका सर्वकालीन सफल ब्याट्सम्यानका रुपमा परिचित छन्। उनले विश्व क्रिकेटका धेरै रेकर्ड आफ्नो नाममा लेखाएका छन्। पहिलो श्रेणीको क्रिकेटमा व्यक्तिगत उच्च स्कोरको कीर्तिमान उनको नाममा छ।
इङ्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा उनले सन् २००४ मा नटआउट ४०० रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमै साउथ अफ्रिकाविरुद्ध सन् २००३ मा एकै ओभरमा २८ रन बनाउँदै अर्को कीर्तिमान रचेका थिए।
उनकै कप्तानीमा २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकप क्रिकेटको उपाधिपछिको ठूलो उपाधि थियो।
लारा टेस्ट ब्याटिङमा लामो समय विश्व वरीयताको शीर्षस्थानमा थिए। मुथैया मुरलीधरनले पनि लारालाई विश्वका सबै ब्याट्सम्यानहरुमध्ये आफ्ना लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वीको रुपमा प्रशंसा गरेका थिए।
उनले टेस्ट क्रिकेटमा ३४ सतक र ४८ अर्धसतकसहित ११ हजार ९५३ रन बनाएका छन्। एकदिवशीय क्रिकेटमा १९ सतक र ६३ अर्धसतक प्रहार गर्दै १० हजार ४०५ रन बनाएका छन्।
Shares

प्रतिक्रिया