आज मंसिर १ गते सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदै छ।
त्यसअघि आइतबार रंगशालामा निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका सहरी विकासमन्त्री कुलमान घिसिङले एनपीएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई बधाई र शुभकामना दिएका छन्।
सोमबार बिहानै मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदै छ।... सोमबारबाट सुरु हुने एनपीएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई र शुभकामना। आशा छ- कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ।’
उनको पूरा भनाइ यस्तो छ:
सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रंगशालामा पहिलो चरणअन्तर्गत निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि आइतबार राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरियो।
फ्लडलाइटको उज्यालोसँगै केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदै छ।
वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रंगशालाको सपना अब वास्तविकतामा परिणत हुँदै छ। खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र ऊर्जाशील बनाउँदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १०अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ। आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि नेपालले पाउनेछ- पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रंगशाला।
पहिलो चरणको निर्माणलाई सफल बनाउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाई हार्दिक धन्यवाद। सोमबारबाट सुरु हुने एनपीएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई र शुभकामना। आशा छ- कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज् भिड्दै छन्।
Shares

प्रतिक्रिया