खेल


रोकिएन सुदूरपश्चिमको रफ्तार, लुम्बिनीको लगातार तेस्रो हार

रोकिएन सुदूरपश्चिमको रफ्तार, लुम्बिनीको लगातार तेस्रो हार

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर ११, २०८२ बिहिबार १५:२, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको हो।  एनपीएलको दोस्रो सिजनका सुदूरपश्चिमले सुरुवातदेखि नै राम्रो प्रदर्शन गरिरहेको छ। यो जितसँगै सुदूरपश्चिम अन्तिम चार नजिक पुगेको छ। 

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले यस सिजनमा राम्रो सुरुवात गरे पनि त्यसपछि भने सम्हालिन सकेको छैन। पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको लुम्बिनी त्यसपछि दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले र तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएको थियो। 

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले नेतृत्व गरेको लुम्बिनीलाई अब अन्तिम चारमा पुग्न कठिन भएको छ। अर्को खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। 

लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो। तेस्रो विकेटका लागि विनोद भण्डारी र आरिफ शेखले ९९ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले लुम्बिनीमाथि सहज जित निकालेको छ। 

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ६९ रनको महत्त्वपूर्ण योगदान दिए। उनले ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गरे। विनोदले ३७ बलमा चार चौका र तीन छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

आरिफ शेख ३९ रनमा तिलक भण्डारीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। हरमित सिंह सात रनमा अविजित रहे। 

त्यस्तै, १४ बलमा एक चौका र दुई छक्का प्रहार गरेका क्रिस लिन रुबेन ट्रम्पलम्यानको बलमा गुल्बदिन नैबको हातबाट क्याच आउट भए। ओपनर जस ब्राउन नौ रन बनाउँदा अविशेक गौतमको बलमा क्याच आउट हुन पुगे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले दुई बल अगावै एक सय ४३ रनमा अलआउट भयो। 

१७औँ ओभरमा लगातार तीन विकेट गुमाएपछि लुम्बिनीले ठूलो योगफल तयार पार्न सकेन। १७औँ ओभरको दोस्रो बलमा गुल्बदिन नैब ११ रन बनाउँदा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। 

त्यही ओभरको पाचौँ बलमा रुबेन ट्रम्पलम्यान कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट रनआउट भए। लगत्तै ओभरको अन्तिम बलमा दिलीप नाथ विकेट किपर भण्डारीकै हातबाट आउट हुन पुगे। 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो। उनले ३६ बलमा तीन चौका प्रहार गरेका थिए। 

दिलिप नाथ ३१ रन बनाउँदै क्याच आउट भए। ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए। शेर मल्ल चार रनमा बोल्ड आउट भए। 

सुदूरपश्चिमका लागि अविनास बोहोराले तीन विकेट लिए। अविनासले आफ्नो स्पेलमा २६ रन मात्र दिए। हरमित सिंहले तीन विकेट झारे। अरमितले ३.३ ओभरमा २२ रन खर्चे। हेमन्त धामीले दुई विकेट लिए। स्कट कुग्लेजनले एक विकेट झारे। 

आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्नेछन्। यो खेल साँझ ४ बजे सुरु हुनेछ। साविक विजेता जनकपुर र पोखरा तेस्रो खेलमा पहिलो जितको खोजीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad