खेल


अशोकको उत्कृष्ट प्रदर्शनमा नेपाली युवा टोली सेमिफाइनलमा प्रवेश

अशोकको उत्कृष्ट प्रदर्शनमा नेपाली युवा टोली सेमिफाइनलमा प्रवेश

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १८:१८, काठमाडौँ

कप्तान अशोक धामीको अलराउन्डर प्रदर्शनमा नेपाली युवा टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार भएको समुह चरणको दोस्रो खेलमा हङकङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समुह ‘ए’को विजेताको रुपमा अन्तिम चारमा पुगेको हो। नेपालले पहिलो खेलमा साउदी अरबलाई आठ विकेटले हराएको थियो। 

नेपालले अब सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा शनिबार युएई र ओमन भिड्नेछन्। 

नेपालले दिएको दुई सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा एक सय ५१ रनमा अलआउट भयो। हङकङलाई कम स्कोरमा रोक्न नेपालका अरजित पौडेलले चार विकेट लिए। उनले आफ्नो स्पेलमा दुई मेडन राख्दै ३१ रन खर्चे। 

कप्तान अशोकले १० ओभरमा दुई मेडन राख्दै २९ रन दिएर तीन विकेट आफ्नो नाममा गरे। रोशन विश्वकर्मा, दयानन्द मन्डल र सुशिल रावलले समान एक विकेट लिए। हङकङका कप्तान शिव माथुरले बनाएको ३० रन नै सर्वाधिक रह्यो। 

त्यसअघि युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउन्ड–२ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि कप्तान अशोक धामीले ५१ बलमा तीन चौका र चार छक्काको सहयोगमा ७३ रनको योगदान दिए। दर्श सुनार ४५ रनमा अविजित रहे। 

दिलसान अलीले ३२ रन बनाए। सिवरिन श्रेष्ठले २५ रन थपे। वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन बनाए। निश्चल क्षेत्री तीन रन थपे। 

हङकङका लागि अभिमन्यु गनेशन र डेनियल मापले समान दुई विकेट लिए। प्रित मंगुकिया, अफ्ताव हुसैनले एक–एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad