कर्णाली याक्सका अलराउन्ड गुल्सन झाले ससाना कमजोरीले गर्दा खेल हारिरहेको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कर्णाली काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भयो। कर्णालीले दिएको एक सय ५० रनको लक्ष्य काठमाडौँले पाँच विकेट गुमाएर १८ ओभरमा पूरा गर्यो।
खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गुल्सनले आजको खेलमा २० रन जति कम भएको बताए। ‘जस्तोसुकै राम्रो टिम भए पनि पहिलो ओभरमा दुई विकेट जाँदा ब्याकफुटमा गइहाल्छ। तैपनि पछि राम्रो गरेका थियौं, तर २० रन कम भयो,’ उनले भने।
आज पहिले ब्याटिङ गरेको कर्णालीले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो। मार्क वाट, पवन सर्राफ र गुल्सन झाले सम्हालेर खेलेपछि एक सय ४९ रन पुगेको थियो। गुल्सनले २२ बलमा ४९ रन बनाएका थिए।
यसअघि पनि ससानो कमजोरीले खेल हारेको उनले सुनाए। ‘विराटनगरसँगको खेल हारौला भन्ने सोचेको थिएन, हार्यौं। टी–२० मा यस्तो हुन्छ,’ गुल्सनले थपे, ‘थोरथोरै ल्याक भइरहेको छ। त्यसैले पछि परिरहेका छौं।’
यसअघि कर्णाली दिएको एक सय ६१ रनको विराटनगर किंग्ससँग १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो। त्यो खेलमा विराटनगरका वसिर अहमदले ४३ बलमा ६२ रन हानेर अविजित रहेका थिए।
अन्य खेलमा पनि केही ‘ल्याक’ हुँदा हारेको उनको भनाइ थियो। ‘ब्याटिङ र बलिङमा मात्रै होइन, फिल्डिङ ल्याक भइरहेको छ। क्याच छुटिरहेको छ। रन आउट छुटिरहेको छ,’ गुल्सनले भने, ‘हामीले तीनै क्षेत्रमा काम गर्नुपर्छ।’
अब बाँकी दुई खेल जित्ने प्रयास हुने उनले बताए। कर्णाली अर्को खेलमा मंगलबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अन्तिम खेलमा आइतबार जनकपुर बोल्टसँग भिड्नेछ।
दुवै खेल जितेपछि कर्णाली सिधैं ‘प्लेअफ’मा पुग्नेछैन। अन्य टोलीको खेलमा निर्भर रहनेछ।
यो पनि पढ्नुहोस् : काठमाडौँ ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन

प्रतिक्रिया