खेल


एडमको शतकमा पोखराको जित, कर्णाली ‘प्लेअफ’बाट बाहिरियो

एडमको शतकमा पोखराको जित, कर्णाली ‘प्लेअफ’बाट बाहिरियो

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १६, २०८२ मंगलबार १९:३०, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। 

गत सिजन प्ले अफ खेलेको कर्णालीले एनपीएलमा लगातार चौथो हार व्यहोर्दै एक खेल अगावै प्लेअफ दौडबाट बाहिरिएको हो। मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। 

लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनको हार भोगेको कर्णालीले चौथो खेलमा विराटनगर किंग्ससँग तीन विकेटको हार व्यहोरेको थियो।

लिग चरणको पाचौँ खेलमा काठमाडौँसँग पनि कर्णाली पाँच विकेटले नै पराजित भएको थियो। अब लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ। 

यता कर्णालीलाई पराजित गरेसँगै पोखराको प्लेअफ सम्भावना कायमै छ। पोखराले अब चितवन राइनोज र काठमाडौ गोर्खाजसँग खेल्नेछ। 
लिग चरणमा पोखरा लुम्बिनी लायन्ससँग तीन विकेटले पराजित हुँदा जनकपुरलाई २५ रनले हराएको थियो। सुदूररपश्चिमसँग १८ तथा विराटनगरसँग ५३ रनले पराजित भएको थियो।  

कर्णालीलाई हराएपछि तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै पोखरा चार अंकमा पाचौँ स्थानमा उक्लेको छ।

मंगलबार पोखराले दिएको दुई सय दुई रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ६ बल अगावै एक सय ६७ रन बनाउँदा अलआउट भयो।

कर्णालीका लागि ओपनर मार्क वाटले ५९ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९ र प्रियांक पञ्चलले १६ रन थपे। 

कर्णालीलाई कम स्कोरमा रोक्न पोखराका ऋषी धवन र धनन्जय लक्षणले तीन–तीन विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले दुई विकेटको क्षतिमा दुई सय एक रनको योगफल तयार पारेको थियो। जारी सिजनमा दुई सय रन पूरा भएको यो दोस्रो खेल हो। 

एडम रोसिङटन एक सय आठ रनमा अविजित रहे। धनन्जय लक्षण २३ रनमा नटआउट रहे। रोसिङटनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे। 

उनले ५५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा शतक पूरा गरेका थिए। जारी सिजन बनेको यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले पहिलो शतक हानेका थिए। 

दोस्रो विकेटका लागि एडम रोसिङटन र जेसन रोयले ७२ बलमा एक सय २७ रनको साझेदारी गरेका थिए। यो सर्वाधिक रनको दोस्रो साझेदारी हो। यसअघि पोखराविरुद्ध विराटनगर किंग्सका मार्टिन गप्टिल र लोकेश बमले दोस्रो विकेटका लागि एक सय ३२ रनको साझेदारी गरेका थिए। 

त्यस्तै, जेसन रोय ४६ रन बनाउँदा क्याच आउट भए। ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाएका जेसन नन्दन यादवको बलमा प्रियांक पञ्चलको हातबाट क्याच आउट भएका थिए। 

ओपनर कुशल भुर्तेल १७ बलमा तीन चौका र एक छक्काको सहयोगमा १८ रन बनाउँदा मार्क वाटको बलमा नन्दन यादवको हातबाट क्याच आउट भए। कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए। 

एनपीएलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन्। यो खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। 

भोलिको खेल विराटनगरले जितमा प्ले अफमा स्थान सुरक्षित हुनेछ। लुम्बिनीले जितमा प्लेअफ सम्भावना थप बलियो बनाउनेछ। विराटनगरको हारले काठमाडौलाई फाइदा पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad