राजनीति


श्रम संस्कृति पार्टी कार्यकारी राष्ट्रपतिको पक्षमा, मन्त्रीहरू विज्ञबाट बनाउने प्रस्ताव

श्रम संस्कृति पार्टी कार्यकारी राष्ट्रपतिको पक्षमा, मन्त्रीहरू विज्ञबाट बनाउने प्रस्ताव

सुमन सुस्केरा
मंसिर १६, २०८२ मंगलबार १९:४९, विराटनगर

धरानका मेयर हर्क राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले पार्टी गठन भएको करिब एक महिनामै आफ्नो मूल सिद्धान्त तथा नीति सार्वजनिक गरेको छ। 

मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राजनीतिक संरचनादेखि शिक्षा, अर्थतन्त्र, परराष्ट्र नीति र सुशासनसम्मका एजेन्डा सार्वजनिक गर्दै औपचारिक रूपमा नीति सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राईले नेपालमा मौजुदा शासन प्रणालीले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली पार्टीको मूल एजेन्डा रहेको सार्वजनिक गरे।

राष्ट्रपति र उपराष्ट्रपति फरक जाति र लिङ्गका हुनुपर्ने व्यवस्था अनिवार्य गर्ने, मन्त्रीहरू विज्ञबाट चयन गर्ने र सांसद मन्त्री बनेमा उनको सांसद पद निलम्बन गरिने व्यवस्था पार्टीको मूल एजेन्डा छ।

राष्ट्रियताको विषयमा पार्टीले भौगोलिक अखण्डता सर्वोच्च रहने भन्दै सीमा क्षेत्रमा सेनालाई खटाउने नीति प्रस्तुत गरेको छ। नेपालीसँग विवाह गरेका विदेशीले पाँच वर्ष नेपालमा बसोबास गरेपछि र आफ्नो पुरानो नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता पाउनुपर्ने प्रस्ताव तथा देशमा रहेका सबै आइएनजिओ खारेज गर्ने घोषणा गरिएको छ।

शिक्षा क्षेत्रमा श्रम संस्कृति पार्टीले परम्परागत ढाँचामा व्यापक परिवर्तन ल्याउने घोषणा गरेको छ। विद्यालय स्तरमै खाना पकाउने र लुगा सिलाउने सिकाइ अनिवार्य गर्ने, १२ कक्षा उत्तीर्ण गरेपछि मात्र उच्च शिक्षा लिन पाउने तथा अनिवार्य सैनिक तालिम गर्नु पर्ने नीति लिएको छ। शिक्षकलाई राजनीतिक क्रियाकलापमा संलग्न हुन रोक लगाउने तथा जेनजी पुस्ताको गुनासो सुन्न छुट्टै आयोग गठन गर्ने योजना पार्टीले सार्वजनिक गरेको हो।

आर्थिक नीतिमा श्रमदानलाई मूल आधार बनाउँदै वैज्ञानिक कर प्रणाली लागू गर्ने, धनीबाट बढी कर लिएर गरिबलाई छुट दिने, स्वदेशी उत्पादन र बजारलाई प्राथमिकता दिने तथा ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ अभियान अघि सार्ने लक्ष्य पार्टीले राखेको छ। 

श्रम गर्ने नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा र अति विपन्न जनतालाई गाँस, बास र कपासको व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्ने पार्टीको सिद्धान्त रहेको सार्वजनिक गरिएको हो।

सुशासनका विषयमा पार्टीले राज्यलाई पूर्ण धर्मनिरपेक्ष बनाउने र कसैलाई पनि करकापमा धर्म परिवर्तन गर्न नदिने उल्लेख गरिएको छ। सरकारी कर्मचारीको गल्तीमा केवल सरुवा नभई जागिरै खोस्ने कडा अनुशासन लागू गर्ने, पत्रकार, सरकारी कर्मचारी र न्यायालयलाई गैर राजनीतिक बनाउने तथा सबै महत्त्वपूर्ण बैठकहरू सार्वजनिक रूपमा लाइभ गरी पारदर्शिता सुनिश्चित गर्ने योजना श्रम संस्कृति पार्टीले अघि सारेको छ।

राईले पत्रकार सम्मेलनमा भने, ‘पार्टीको नीति तथा सिद्धान्त सार्वजनिक गरेसँगै श्रम संस्कृति पार्टी अब राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा उभिएको छ।’

अध्यक्ष राईले देशमा श्रम, नैतिकता र पारदर्शिता कायम गर्दै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने आफ्नो उद्देश्य रहेको बताए।

राजनीतिक सुधार

  • प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव

  • राष्ट्रपति–उपराष्ट्रपति फरक लिंग र जातिका हुनुपर्ने माग

  • मन्त्री बन्ने सांसदको पद निलम्बन गर्नुपर्ने व्यवस्था

  • संघमा दुई सदन, प्रदेशमा एक सदनको संरचना

  • पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने योजना

राष्ट्रियता र परराष्ट्र

  • सीमा सुरक्षामा सेना खटाउने तयारी

  • असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धता

  • विदेशी पत्नी/पति पाँच वर्षपछि मात्र नागरिकता

  • सबै आइएनजिओ खारेज गर्ने प्रस्ताव

शिक्षा र युवा

  • हप्तामा तीन दिन पढाइ, चार दिन उत्पादन र साहित्यमा लगानी

  • खाना पकाउनेदेखि लुगा सिउनसम्म 'जीवन उपयोगी शिक्षा'

  • कक्षा १२ पछि अनिवार्य सैनिक तालिम

  • शिक्षकलाई राजनीति गर्न निषेध

  • Gen Z का गुनासा सुन्न छुट्टै आयोग

आर्थिक नीति र श्रम

  • धनीले बढी कर, गरिबमाथि करमा छुट

  • ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’

  • श्रमदान संस्कृतिलाई संस्थागत गर्ने योजना

  • गरिबलाई गास, बास, कपासको व्यवस्था

  • केवल निसर्त विदेशी लगानी स्वीकार्ने नीति

सुशासन र प्रशासन

  • राज्य धर्मनिरपेक्ष, जबर्जस्ती धर्म परिवर्तनमा रोक

  • सरकारी कर्मचारी गल्ती गरे जागिरै खोसिने

  • पत्रकार, कर्मचारी र न्यायालयको गैरराजनीतिकरण

  • सबै सरकारी बैठक ‘लाइभ’ प्रसारण गर्ने प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad