नेपाल प्रिमियर लिग (एनपीएल)बाट बाहिरिएको कर्णाली याक्सका प्रशिक्षक राजु बस्न्यातले खराब फिल्डिङका कारण जित्न नसकिएको बताएका छन्।
एनपीएलमा ‘प्लेअफ’को दौडबाट बाहिरिने कर्णाली पहिलो टोली बनेको छ। मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णालीको ‘प्लेअफ’को यात्रा सकिएको हो। कर्णाली ६ खेलमा एक खेल मात्रै जितेको छ भने पाँच खेल हारेको छ।
अन्तिम चारको सम्भावना सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कर्णालीका प्रशिक्षक बस्न्यातले प्रतियोगिताभरी नै आफ्नो टोलीको फिल्डिङ खराब रहेको बताए। उनले भने, ‘सबैभन्दा त प्रतियोगिताभरि नै हामीले खराब फिल्डिङ गरेका थियौं। क्याचमा सतप्रतिशत दिन सकेनौं।’
त्यस्तै, बलिङ पनि राम्रो हुन नसकेको उनको भनाइ थियो। ‘हामीसँग बलर राम्रा छन्। अहिलेको राष्ट्रिय टिमको तीन वटा फास्ट बलर छन्। स्पिनरमा पनि अप्सन छ। तर, जुन किसिमले बलिङ डेलिभरी गुर्नपर्ने हो, त्यस किसिमको हुन पाएन,’ प्रशिक्षक बस्न्यातले भने।
कर्णालीको टोलीमा रहेका नेपाली खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा पनि पराजय भोग्नु परेको उनको ठम्याइ थियो। ‘अन्य टोलीमा नेपाली खेलाडीले राम्रै गरेका छन्। हाम्रो टोलीमा नेपाली खेलाडीबाट जुन किसिमको प्रदर्शन हुनुपर्ने हो, त्यस किसिमको भएन। त्यसैले हामीले जित्न सकेनौं,’ उनले भने।
कप्तान सोमपाल कामीको भने प्रशिक्षक बस्न्यातले बचाउ गरे। ‘सोमपालले धेरै कप्तानी नगरेको भएकाले धेरै आइडिया नहुनसक्छ। तर, नेपालका लागि धेरै क्रिकेट खेलेको छ। अहिले खेलिरहेका खेलाडीभन्दा सबैभन्दा बढी अनुभव छ,’ उनले भने, ‘कप्तानी नै कमजोर भन्ने छैन। कप्तानीका कारण खेल हारेजस्तो लाग्दैन।’
हरेक खेलमा राम्रै गरेको भए पनि ससानो गल्तीले खेल हार्दै आएको उनले सुनाए। पोखरासँगको खेल पनि त्यस्तै गल्ती भएको उनले सुनाए। ‘हाम्रो पनि सुरुवात राम्रो भइसकेको थियो। तर ब्याटर सेट भइसकेपछि विकेट गुमायौं। सेट भइसकेपछि विकेट गुमाउँदा यस्तो (ठूलो लक्ष्य भएको) खेलमा रिन चेस गर्न गाह्रै हुन्छ,’ उनले भने।
गत वर्ष ‘प्लेअफ’मा पुगेको टोली यस पटक यति छिट्टै बाहिरिएला भन्ने सोचिएको थियो त भन्ने प्रश्नमा प्रशिक्षक बस्न्तायले भने, ‘लडाइँमा गएपछि कसैले पनि हार्छु भनेर जाँदैन। हामीले पनि पहिलो खेलदेखि नै जित्छौं भनेर टिम बनाएको थियो।’
यो पनि पढ्नुहोस् : एडमको शतकमा पोखराको जित, कर्णाली ‘प्लेअफ’बाट बाहिरियो
Shares

प्रतिक्रिया