खेल


अपराजित सुदूरपश्चिमको क्वालिफायर यात्रा

अपराजित सुदूरपश्चिमको क्वालिफायर यात्रा

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १८, २०८२ बिहिबार २०:७, काठमाडौँ

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा स्थान पक्का गरेको छ। 

बिहीबार भएको खेलमा चितवनलाई ४९ रनले हराउँदै क्वालिफायरमा स्थान बनाउने सुदूरपश्चिम पहिलो टोली बनेको हो। जारी सिजन अपराजित रहने एक्लो टोली सुदूरपश्चिमले गत सिजनकै लयलाई कायम राखेको छ। 

गत सिजन सुदूरपश्चिमले लिग चरणमा ६ खेलमा जित निकाल्दा चितवनसँग मात्र पराजित भएको थियो। सुदूरपश्चिमले अघिल्लो सिजन पनि ६ खेलमा जित र एक खेलमा हार भोग्दै १२ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको थियो। 

जारी सिजनमा उपाधि दाबेदारको रुपमा देखिएको सुदूरपश्चिमले लिग चरणको ६ खेल सकिँदा आफ्नो प्रर्दशनको एकरुपतालाई कायम राखेको छ। 

लिगको छैटौँ खेलमा तीन खेलाडीलाई डेब्यू दिएको सुदूरपश्चिमले आफ्नो प्रर्दशनलाई उस्तै राखेको हो। सुदूरपश्चिमले चितवनविरुद्ध ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरालाई डेब्यू दिएको थियो। 

यस्तै गत सिजन विराटनगरमा रहेका दिपक बोहरा र भारतीय खेलाडी पुनित मेहरालाई प्लेइङ ११ मा पहिलो पटक समेटेको थियो। छैटौँ ओभरको तेस्रो बलमा चितवनका सैफ जैबलाई आउट गराउँदै हिक्मतले आफ्नो डेब्यु खेलमा नै विकेट लिए। 

राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका अलराउन्डर कप्तान दीपेन्द्रसिंह ऐरी सबै भूमिकामा अब्बल देखिँदै आएका छन्। सुदूरपश्चिममा नेपाली खेलाडीको प्रर्दशन पनि उच्च देखिएको छ।

टोलीको शीर्षक्रमदेखि डेथ ओभरसम्म ब्याटरहरूले जिम्मेवारपूर्वक आफ्नो भूमिका खेलिरहेका छन्। समग्रमा नेपाली र विदेशी खेलाडीको एकनासको प्रर्दशन नै सुदूरपश्चिमको जितको आधार बन्दै आइरहेको छ। 

चितवनविरुद्ध सर्वाधिक ७५ रन बनाएका क्रिस लिन रिटायर्ड हर्ट भए। उनले ५६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। 

चितवनलाई रोक्न दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनास बोहरा, इशान पाण्डेले समान एक विकेट लिए। पुनित मेहराले दुई विकेट लिए। 
सुदूरपश्चिमले लिग चरणको आफ्नो पहिलो खेलमा काठमाडौँ गोखार्जलाई २९ र पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो। 

कर्णाली याक्सलाई ४५ रनले तथा लुम्बिनी लायन्सलाई ७ विकेटले पाखा लगाएको थियो। साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। 

लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले विराटनगर किंग्ससँग शनिबार खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad