खेल


काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:३६, काठमाडौँ

लुम्बिनी लायन्सका बलरसामु काठमाडौँ गोर्खाजका ब्याटर निरिह बन्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि एक सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस जितेर ब्याटिङ गरेको काठमाडौँ पाँच बल अगावै एक सय ११ रन बनाउँदा अलआउट भयो। काठमाडौँका लागि सन्तोष यादव सर्वाधिक २३ रनमा रनआउट भए।  

जोन सिम्सन र मोहम्मद आदिल आलमले समान १८ रन थपे। १७ बलमा एक चौका र एक छक्का प्रहार गरेका जोन लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा एलबीडब्लूको धरापमा परे। 

आदिलले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा १८ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए। १६ बलमा एक चौका सहयोगमा १४ रन बनाएका भीम सार्की रोहित पौडेलको बलमा दिलीप नाथको हातबाट क्याच आउट भए। 

त्यस्तै, ६ बलमा एक छक्का सहयोगमा सात रन बनाएका सन्नी पटेल रुवेन ट्रम्पलम्यानको बलमा एलबीडब्लूको धरापमा परे। करण केसी नौ रनमा क्याच आउट भए। वेन चाल्र्सवर्थ चार, मिलिन्द कुमार र रसिद खानले समान दुई रन थपे। आकाश त्रिपाठी एक रनमा पेभेलियन फर्के।

काठमाडौँ एक समय ४.१ ओभरमा चार विकेट गुमाएर १४ रनको अवस्थामा थियो। लुम्बिनीविरुद्ध काठमाडौँका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। 

काठमाडौँलाई कम स्कोरमा रोक्न लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान तीन विकेट लिए। रोहितले आफ्नो स्पेलमा २५ रन खर्चे। भने शेर मल्लले २२ रन दिए। 

यसैगरी, ३.१ ओभर बलिङ गरेका रुवेनले एक मेडन राख्दै मात्र १० रन दिँदा दुई विकेट आफ्नो नाममा गरे। अविशेष गौतमले एक विकेट झारे। 

लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्सविरुद्ध खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad