खेल


एनपीएलमा अर्धशतक बनाउने नौ नेपाली ब्याटर

एनपीएलमा अर्धशतक बनाउने नौ नेपाली ब्याटर

नेपालखबर
मंसिर २४, २०८२ बुधबार २०:५६, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तिम चरणतिर पुग्दा नौ जना नेपाली ब्याटरले अर्धशतक प्रहार गरेका छन्। 

एनपीएलमा अब दुई खेल बाँकी छन्, दोस्रो क्वालिफायर र फाइनल। सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ भने दोस्रो क्वालिफायरमा विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्। 

अहिलेसम्म लिग चरण २८ र प्लेअफका दुई गरी ३० खेल भएका छन्। यसमा दुई जना विदेशी खेलाडीले शतक प्रहार गरेका छन्। त्यस्तै, नौ जना नेपाली र १९ जना विदेशी खेलाडीले अर्धशतक प्रहार गरेका छन्। यी हुन् अर्धशतक बनाउने नेपाली खेलाडीः 

विनोद भण्डारी

सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर विनोद भण्डारीले एनपीएलमा दुई अर्धशतक प्रहार गरेका छन्। उनले लुम्बिनी लायन्स र विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका हुन्।

एनपीएलमा विनोदले मंसिर १५ गते लुम्बिनीविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए। त्यो खेलमा उनले ४९ बलमा पाँच चौका र चार छक्काको मद्दतले ६९ रन हानेका थिए। 

यो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले पराजित गरेको थियो। विनोद प्लेअर अफ द म्याच भएका थिए। 

त्यस्तै, दोस्रो अर्धशतक मंसिर २२ मा विराटनगरविरुद्ध हानेका थिए। ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतले ६३ रन बनाएका भण्डारी प्लेअर अफ द म्याच पनि भए। यो खेलमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो। 

एनपीएलमा विनोद सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा छन्। उनले दुई सय ६४ रन बनाएका छन् भने पहिलो नम्बरमा रहेका पोखरा एभेन्जर्सका एडम रोसिङटनको तीन सय २३ रन बनाएका छ। 

कुशल भुर्तेल

एनपीएलमा दुई वटा अर्धशतक बनाउने अर्का नेपाली खेलाडी हुन्, कुशल भुर्तेल। पोखरा एभेन्जर्सका कप्तानसमेत रहेका कुशलले विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। 

मंसिर २ गते भएको विराटनगरविरुद्धको खेलमा उनले पहिलो अर्धशतक बनाएका थिए। उनले ३१ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५३ रन बनाएका थिए। 

कुशलले अर्धशतक बनाए पनि यो खेलमा पोखरा विराटनगरसँग ५९ रनले पराजित भएको थियो। विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले एक सय ६७ रन मात्रै बनाउन सकेको थियो। 

त्यस्तै, मंसिर ५ मा सुदूरपश्चिमविरुद्ध भएको खेलमा उनले दोस्रो अर्धशतक बनाएका थिए। कुशलले ३२ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए। यो खेलमा पोखरा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो। 

कुशल धेरै रन बनाउने खेलाडीको सूचीमा तेह्रौँ नम्बरमा छन्। उनले आठ खेलमा एक सय ५६ रन बनाएका छन्। पोखरा भने लिग चरणबाटै बाहिरिएको छ।

बसिर अहमद

एनपीएलमा विराटनगर किंग्सका अलराउन्डर बसिर अहमदले अर्धशतक बनाएका छन्। उनले मंसिर २८ गते कर्णाली याक्सविरुद्ध अर्धशतक बनाएका हुन्।

बसिरले ४३ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ६२ रन बनाएका थिए। यो खेलमा विराटनगरले लुम्बिनीलाई तीन विकेटले पराजित गरेको थियो। 

एनपीएलको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी आठौँ नम्बरमा छन्। उनले आठ खेलमा एक सय ८८ रन बनाएका छन्। विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएकाले उनको रन बढ्न सक्छ। 

लोकेश बम

एनपीएलमा अर्धशतक बनाउन अर्का खेलाडी हुन्, लोकश बम। विराटनगर किंग्सका ओपनर ब्याटर लोकेशले मंसिर २ मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्। 

उनले ४८ बलमा एक चौका र सात छक्काको मद्दतले ७२ रन बनाएका थिए। यो खेलमा विराटनगरले पोखरालाई ५३ रनले पराजित गरेको थियो। विराटनगरले एनपीएलकै सर्वाधिक दुई सय २० रन बनाएको थियो। 

लोकेश धेरै रन बनाउने खेलाडीमो दशौँ नम्बरमा छन्। उनले आठ खेलमा एक सय ७७ रन बनाएका छन्। विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएकाले उनको रन बढ्न सक्छ। 

ईशान पाण्डे

एनपीएलमा अर्धशतक बनाउने अर्का खेलाडी हुन्, सुदूरपश्चिम रोयल्सका ईशान पाण्डे। उनले मंसिर १३ मा जनकपुर बोल्टसविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए। 

ईशानले ३५ बलमा आठ चौका र एक छक्काको सहयोगमा ५६ रन बनाएका थिए। यो खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गरेको थियो। उनी प्लेअर अफ द म्याच भएका थिए। 

एनपीएलमा धेरै रन बनाउने खेलाडीको सूचीमा उनी १८औँ नम्बरमा छन्। उनले आठ खेलमा एक सय २७ रन बनाएका छन्। सुदूरपश्चिम फाइनलमा पुगेकाले उनको रन बढ्नसक्छ। 

आसिफ शेख

एनपीएलको पहिलो खेलमै जनकपुर बोल्टसका आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए। मंसिर १ मा भएको काठमाडौँ गोर्खाजविरुद्धको खेलमा आसिफले ४१ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५४ रन बनाएका थिए। 

तर, यो खेलमा जनकपुर काठमाडौँसँग पाँच विकेटले पराजित भएको थियो। गत सिजनको च्याम्पियन जनकपुर यस पटक भने लिग चरणबाटै बाहिरिएको छ। 

एनपीएलमा धेरै रन बनाउने खेलाडीको सूचीमा आसिफ ३२औँ नम्बरमा छन्। उनले सात खेलमा एक सय पाँच रन बनाएका छन्। 

अर्जुन साउँद

चितवन राइनोजका ओपनर ब्याटर अर्जुन साउँदले एक अर्धशतक प्रहार गरेका छन्। उनले मंसिर १६ मा भएको जनकपुरविरुद्धको खेलमा शर्धशतक प्रहार गरेका हुन्। 

अर्जुनले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनाएका थिए। यो खेलमा चितवन जनकपुरसँग ६ विकेटले पराजित भएको थियो। चितवन लिग चरणबाटै बाहिरिएको छ। 

एनपीएलमा धेरै रन बनाउने खेलाडीको सूचीमा उनी ३९औँ नम्बरमा छन्। उनले सात खेलमा ८७ रन बनाएका छन्। 

भीम सार्की

एनपीएलमा अर्धशतक बनाउने अर्का खेलाडी हुन्, भीम सार्की। काठमाडौँ गोर्खाजका भीमले मंसिर १८ मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। 

एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी उनी नै हुन्। उनले १९ बलमा अर्धशतक बनाएका थिए। 

पोखराविरुद्ध उनले २३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५५ रन प्रहार गरेका थिए। यो खेलमा काठमाडौँले पोखरालाई १३ रनले पराजित गरेको थियो। उनी प्लेअर अफ द म्याच भएका थिए। 

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी ३९औँ नम्बरमा छन्। उनले पाँच खेलमा ९० रन बनाएका छन्। 

अनिल साह

जनकपुर बोल्टसका कप्तान अनिल साहले एक अर्धशतक बनाएका छन्। उनले मंसिर १६ गते भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्। 

उनले ३६ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६१ रन बनाएका थिए। यो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो। अनिल प्लेअर अफ द म्याच भएका थिए। 

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी ४५औँ नम्बरमा छन्। उनले ६ खेलमा ७३ रन बनाएका छन्। जनकपुर भने लिग चरणबाटै बाहिरिएको छ। 

विदेशी १९ खेलाडीको अर्धशतक

एनपीएलमा अहिलेसम्म १९ जना विदेशी खेलाडीले अर्धशतक बनाएका छन्। सबैभन्दा धेरै चितवन राइनोजका रवि बोपाराले तीन अर्धशतक बनाएका छन्। 

त्यस्तै, तीन खेलाडीले दोहोरो अर्धशतक बनाएका छन्। पोखराका एडम रोसिङटन, जनकपुरका सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियांक पञ्चलको नाममा दुई-दुई अर्धशतक छ। 

रवि बोपारा।

कर्णालीका मार्क वाट, काठमाडौँका बेन चार्ल्सवर्थ, लुम्बिनीका डार्सी सोर्ट, सुदूरपश्चिमका क्रिस लिन, विराटनगरका मार्टिन गप्टिल, काडमाडौँका जोन सिमसन, सुदूरपश्चिमका हरमित सिंह, चितवनका डेभिड मलान, विराटनगरका साम हेजलेट, जनकपुरका माज सदाकत, सुदूरपश्चिमका जस ब्राउन, पोखराका जेम्स निशम, विराटनगरका फाफ डु प्लेसिस, जनकपुरका वाने पार्नेल, पोखराका सुमित बर्मा र ऋषि धवनले एक-एक अर्धशतक बनाएका छन्। 

दुई शतक विदेशी खेलाडीको नाममा

एनपीएलमा बुधबारसम्म दुई वटा मात्रै शतक लागेका छन्। पोखरा एभेन्जर्सका एडम रोसिङटन र कर्णाली याक्सका मार्क वाटले शतक बनाएका हुन्। 

एडम रोसिङटन।

एडमले कर्णालीविरुद्धको खेलमा ५८ बलमा ११ चौका र सात छक्काको सहयोगमा एक सय आठ रन बनाए। उनको शतकको मद्दतमा पोखराले दुई सय एक रन बनाएको थियो। यो खेलमा पोखराले कर्णालीलाई ३४ रनले पराजित गरेको थियो। उनी प्लेअर अफ द म्याच भए। 

त्यस्तै, कर्णालीका मार्कले लुम्बिनीविरुद्धको खेलमा शतक बनाएका थिए। उनले ४४ बलमा ६ चौका र १२ छक्काको मद्दतले एक सय १४ रन बनाएका थिए। यो खलमा कर्णालीले लुम्बिनीलाई नौ विकेटले पराजित गरेका थिए। उनी प्लेअर अफ द म्याच भएका थिए। 

मार्क वाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad