खेल


बुढासुब्बा गोल्डकपः आयोजक धरानको विजयी सुरुवात

बुढासुब्बा गोल्डकपः आयोजक धरानको विजयी सुरुवात

नेपालखबर
माघ २२, २०८२ बिहिबार २१:१३, सुनसरी

आयोजक धरान फुटबल क्लबले २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपमा विजयी सुरुवात गरेको छ।

बिहीबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो।

धरान रङ्गशालामा भएको खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा धरानका तर्फबाट विवेक राई, सबिन राई, प्रजल थापा र नगेन राईले गोल गरे। जर्जियनको तर्फबाट शरद मुन्डा र साइजाले मात्र गोल गरे।

बक्सर प्रधानको प्रहार बाहिरियो भने विशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर सब्सिच्युड गोलकिपर बिपुल मगरले विफल बनाए। बिपुल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पाए।

यसअघि निर्धारित समयको ८ औँ मिनेटमा जर्जियनका हेमराज भुजेलले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए।

तर खेलको १९ औ मिनेटमा धरानका कप्तान तपन कार्कीले गोल फर्काएपछि खेल १–१ को बराबरीमा आयो। बाँकी समय कुनै टिमबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। उद्घाटन खेलको विजेता धरानले अब पोखराको लालीगुराँस एफसीसँग माघ २६ गते क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

लालीगुराँसले सिधै बाई पाएर क्वाटर फाइनल खेल्नेछ। शुक्रवारको दोस्रो प्रि–क्वाटर फाइनल खेल अर्को पाहुना टोली रोयल थिम्पु फुटबल क्लब भुटान र झापा ११ बिच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए। 

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस पटक १० वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख पुरस्कार पाउनेछ।

दुवै पुरस्कार राशि धरान उपमहानगरपालिकाले उपलब्ध गराएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पाउनेछ।

गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो। विधागत उत्कृष्टलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad