खेल


इङ्ल्यान्डले जित्दा ब्रिटिस मिडियाले कसरी नेपाली टोलीको प्रशंसा गरे?

इङ्ल्यान्डले जित्दा ब्रिटिस मिडियाले कसरी नेपाली टोलीको प्रशंसा गरे?

नेपालखबर
माघ २६, २०८२ सोमबार १४:५२, काठमाडौँ

मुम्बईको वानखेडे स्टेडियममा आइतबार एउटा यस्तो 'थ्रिलर' मञ्चन भयो, जहाँ विश्वविजेता इंग्ल्याण्डले जितेर पनि हार महसुस गर्‍यो भने नेपालले हारेर पनि विश्व क्रिकेटको मन जित्यो। १८५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल केवल ४ रनले चुक्यो, तर मैदानमा देखाएको जुझारुपन कुनै 'सुपरस्टार' टोलीको भन्दा कम थिएन।

ब्याटिङमा लोकेश बमले जोफ्रा आर्चर जस्ता विश्वप्रसिद्ध बलरलाई लगातार दुई छक्का प्रहार गर्दै २० बलमा ३९ रनको जुन 'किलर' इनिङ्स खेले, त्यसले अंग्रेज टोलीलाई स्तब्ध बनायो। अनुभवी दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४४ रन जोड्दै टी-२० आईमा २ हजार रनको कीर्तिमान रच्दा, कप्तान रोहित पौडेल (३९) सँगको ८२ रनको साझेदारीले नेपाललाई जितको सँघारमा पुर्‍याएको थियो।

बलिङमा पनि नेपाली 'स्पिन जादु' कायमै रह्यो। शेर मल्लले आफ्नो करियरको पहिलो बलमै फिल साल्टलाई आउट गरेर 'स्वर्णिम डेब्यु' गरे। सन्दीप लामिछानेले ४ ओभरमा २५ रन मात्र खर्चेर किफायती बलिङ गर्दा दीपेन्द्र र नन्दन यादवले २-२ विकेट लिएर इंग्ल्याण्डको लय बिगारिदिए। १७ हजार समर्थकको गर्जनबीच नेपालले देखाएको यो पौरखले प्रमाणित गर्‍यो— अब नेपाल 'अन्डरडग' मात्र रहेन, विश्व क्रिकेटको नयाँ शक्ति बनेर उदाएको छ।

१. द टेलिग्राफ: 'नेपालसँगको भेटले इङ्गल्याण्डको सातो गयो'

ब्रिटेनको प्रसिद्ध ब्रडसिट दैनिक द टेलिग्राफको अनलाइनले मुम्बईको वानखेडेमा नेपाली दर्शकको उपस्थितिले इङ्गल्याण्ड टोलीको ‘सातो गएको’ उल्लेख गरेको छ। 'जब वानखेडेमा १७ हजार दर्शकको मुखबाट ‘वी वान्ट नेपाल’ भन्ने आवाज गुन्जियो, तब इङ्गल्याण्डको सातो गएको थियो। त्यतिबेला इङ्गल्याण्ड अपमानजनक हारको निकै नजिक पुगेको थियो,' टेलिग्राफले लेखेको छ। उसले दीपेन्द्र सिंह ऐरीको 'स्विच हिट' र १७ हजार दर्शकको अभूतपूर्व समर्थनलाई विशेष महत्त्व दिँदै भविष्यमा नेपालले इङ्गल्याण्डलाई पक्कै हराउने भविष्यवाणी समेत गरेको छ।

२. द गार्डियन: 'हिमाल चढ्नेहरूका लागि १८५ रन केही होइन'
नेपालको साहसिलो प्रदर्शनलाई द गार्डियनले सुन्दर बिम्बमा उतारेको छ। नेपालीहरू हिमाल चढ्न अभ्यस्त रहेको उल्लेख गर्दै गार्डियन अनलाइनले लेखेको छ, ‘रोहित पौडेलले भनेझैँ, नेपालीका लागि १८५ रनको लक्ष्य हिमाली मापदण्डमा सामान्य नै थियो।’ आदिल राशिद जस्ता विश्वस्तरीय स्पिनरलाई विकेटविहीन बनाउने नेपाली ब्याटरको क्षमताको उसले ठूलो प्रशंसा गरेको छ। यस्तै, द इन्डिपेन्डेन्टले पनि नेपालले 'डरलाग्दो टोली'को रूपमा ठूलो चुनौती खडा गरेको र इङ्गल्याण्डले संकटपूर्ण बचाउ गरेको उल्लेख गरेको छ।

३. रोयटर्स: 'नेपाललाई प्रशिक्षण दिन डेल स्टेन तयार'
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेपालको जुझारु प्रदर्शनबाट दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर डेल स्टेन प्रभावित भएको र प्रशिक्षण दिन इच्छुक रहेको प्रसंगलाई प्राथमिकता दिएको छ। जोफ्रा आर्चरको ओभरमा लोकेश बमले २२ रन प्रहार गर्दा र दीपेन्द्रले छक्का बर्साउँदा इङ्गल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याकुलम वाकी-टाकी समातेर 'डगआउट'मा आत्तिएको दृश्यलाई रोयटर्सले रोचक ढंगले प्रस्तुत गरेको छ।

४. स्काइ स्पोर्ट् र जीबी न्यूज: 'जितमा खुसी होइन, राहत'
स्काइ स्पोर्ट्सले नेपालको खेललाई 'ऐतिहासिक जितको सपना' भन्दै अन्तिम बलको निर्णयको चर्चा गरेको छ। यस्तै, जीबी न्यूजले लेखेको छ, “इङ्गल्याण्डको टोलीमा कुनै ठूलो उत्सवको माहोल थिएन—त्यहाँ केवल एउटा राहतको आभास देखिन्थ्यो कि उनीहरू एउटा यस्तो अपमानजनक हारबाट जोगिए, जसले विश्वकपभरि नै हलचल मच्चाउन सक्थ्यो।”

५. द डेली: 'इङ्गल्याण्डको संकटपूर्ण बचाउ'
द डेलीले वानखेडेको वातावरण पूर्णतः नेपालको पक्षमा रहेको र १७ हजार समर्थकले एसोसिएट राष्ट्रका लागि 'घरेलु मैदान' जस्तै माहोल बनाएको उल्लेख गरेको छ। अन्तिम बलमा साम करनले 'लो फुल-टस' फालेर नेपाललाई रोके पनि इङ्गल्याण्डको जित उल्लासपूर्ण नभई संकटको बचाउ मात्र भएको उसको विश्लेषण छ।

६. बीबीसी: 'हारको संघारबाट फर्कियो इङ्गल्याण्ड'
बीबीसीका म्याथ्यु हेनरीले खेलको गहिरो विश्लेषण गर्दै गत वर्ष वेस्ट इन्डिज र २०२४ मा दक्षिण अफ्रिकालाई दिएको दबाबको स्मरण गरेका छन्। बीबीसीले सन्दीप लामिछानेको किफायती बलिङ र शेर मल्लको 'स्वर्णिम डेब्युु' (पहिलो बलमै फिल साल्टको विकेट)को खुलेर प्रशंसा गरेको छ। “खेलको अन्त्यमा कुनै ठूलो उत्सव मनाइएन किनकि इङ्गल्याण्डले खेललाई हारको संघारबाट मात्र फिर्ता ल्याएको थियो,” हेनरीले लेखेका छन्।

७. डेली मेल; 'बिग्रिएको हिउँदको नयाँ गिरावट'
बेलायतको चर्चित ट्याबलोइड डेली मेलको अनलाइनले ह्यारी ब्रुकको टोलीमा 'किलर इन्स्टिंक्ट'को अभाव देखिएको र 'निडर नेपाल' उनीहरूमाथि हाबी भएको लेखेको छ। समूह-सी को यस भिडन्तमा १८५ रन पछ्याएको नेपालले अन्तिम ओभरसम्मै उलटपुलटको स्थिति जीवित राखेको थियो।

***

मुम्बईको वानखेडेमा नेपालले खेल त हार्‍यो तर विश्व क्रिकेटका हस्तीहरूको नजरमा एउटा उदीयमान शक्तिको रूपमा आफूलाई बलियोसँग स्थापित गरेको छ। नेपाली खेलाडीले पाएको 'ल्याप अफ अनर' ले भन्थ्यो— यो हार होइन, एउटा महान् सुरुवातको संकेत हो। १७ हजार दर्शकको 'होम-लाइक' सपोर्टले नेपाललाई विश्व क्रिकेटको नयाँ शक्तिका रूपमा चिनाएको छ। इङ्गल्याण्डका कप्तान ह्यारी ब्रुकले भनेजस्तै यो जित नमिठो थियो, जुन नेपालको उत्कृष्ट खेलकै नतिजा थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad