नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा ठूला टोलीसँगको खेलसँगै नेपाली खेलाडीले दबाबको बेला कसरी खेल्ने सिकेको बताएका छन्।
मुम्बईमा मंगलबार भएको प्रेसमिटमा उनले विश्वकप खेल्दै गर्दा स्वाभाविक रुपमा दबाब हुने बताएका हुन्।
‘पछिल्लो खेलबाट हामीले अन्तिम अवस्थामा दबाबलाई कसरी व्यवस्थापन गर्ने र खेल्ने भन्ने सिक्यौँ’, रोहितले भने, ‘जब विश्वकप खेलिन्छ, निश्चय नै त्यहाँ दबाब त हुने नै भयो। हामीले अहिलेसम्म धेरै क्रिकेट खेलिसकेका छौँ। त्यसकारण पनि कसरी दबाबलाई ह्यान्डल गर्ने हाम्रो टिमले सिकेको छ। ठूलो संख्याका समर्थकको अगाडि हामीले खेलिसकेका छौँ। इटलीविरुद्ध पनि त्यहीअनुसार खेल्छौँ।’
पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले इंग्ल्यान्डसँगको नतिजाका लागि समर्थकसँग नन्दन यादवले मागेको माफी उनको व्यक्तिगत कुरा भएको उल्लेख गरे।
खासगरी ठूला टोलीसँग खेलेको धेरै अनुभव नभएकाले पनि पछिल्ला नतिजाहरु आफूअनुकूल नआएको उनको बुझाइ छ।
‘हामीले ठूला टोलीसँग खासै खेल्न पाएका छैनौँ। वेस्ट इन्डिजसँग मात्र बिग गेम खेल्ने अवसर पायौँ। हामीलाई एक्सपोजर चाहिएको छ’, उनले भने, ‘यदि हामीले नियमित रुपमा यस्ता खेल, सिरिज खेल्न पायौँ भने राम्रो गर्न सक्छौँ। मलाई आशा छ, यो विश्वकपपछि हामीमा केही न केही परिवर्तन आउनेछ।’
उनले एक्सपोजर र अनुभवका लागि ठूला टोलीसँग काठमाडौंमा खेल्न चाहेको पनि खुलाए।
‘हामी चाहन्छौँ– अस्ट्रेलिया, इंग्ल्यान्ड, इन्डियाजस्ता देशहरु आएर कीर्तिपुर (काठमाडौं)मा हामीसँग खेलून्। उनीहरुले न्यानो स्वागत पाउनेछन्। र, यसका लागि म आशावादी पनि छु’, उनले भने।
जारी विश्वकपमा सबै खेल वानखेडेमा खेल्न पाउँदा खुसी लागेको रोहितको भनाइ छ।
‘हाम्रा सबै खेल वानखेडेमा हुँदा खुसी लागेको छ। त्यहाँको विकेट मैत्री वातावरण हामीअनुकूल पनि छ। त्यो हाम्रा लागि फाइदाको कुरा हो’, उनले भने।
नेपाल प्रिमियर लिग टी२० फरम्याटमा हाम्रो सबैभन्दा उच्च कोटिको प्रतिस्पर्धा भएको बताउँदै उनले लोकेश जस्ता उदाउँदा खेलाडीले यसबाटै एक्सपोजर पाएको उल्लेख गरे।
‘जहाँ विश्वका उत्कृष्ट खेलाडीविरुद्ध खेल्न पाइएको छ। यसबाट मिल्ने अनुभव ज्यादै महत्त्वपूर्ण छ। त्यसकारण एनपीएल एउटा खेलाडीका रुपमा भन्नुपर्दा हाम्रो सर्वथोक हो’, एनपीएलको प्रशंसा गर्दै उनले थपे।
अस्ट्रेलिया, इंग्ल्यान्ड, इन्डियाजस्ता टोली नेपाल आएर खेल्ने हो भने यसले नेपाललाई सहयोग गर्ने मात्रै नभई क्रिकेटको विश्वव्यापीकरणमा पनि मद्दत पुर्याउने बताए।
‘अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग हामीले पहिलोपटक खेलेका थियौँ र झण्डै झण्डै जितकै नजिक पुग्यौँ। अस्तिको इंग्ल्यान्डसँग पनि त्यस्तै भयो। अस्ति त हामीले विश्व क्रिकेटबाट प्रशंसा पायौँ। यी दुवै खेलले नेपाली क्रिकेटलाई विश्वमाझ अझ बढी चिनाउने काम गरेको छ’, उनले भने, ‘मलाई आशा छ हामी अझै यस्ता पर्फमेन्समा निखार ल्याउनेछौँ।’
Shares

प्रतिक्रिया