खेल


सूर्य नेपाल काठमाडौँ ओपन सुरु, रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौँ ओपन सुरु, रामे र रवि पहिलो दिन शीर्षस्थानमा

नेपालखबर
माघ २७, २०८२ मंगलबार १९:२९, काठमाडौँ

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। ३–अन्डर ६५ को स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारे।

जयराम २–अन्डर ६६ सहित तेस्रो स्थानमा रहे। १-अन्डर ६७ को स्कोरमा सञ्जय लामा चौथो स्थानमा रहँदा इभन–पार ६८ सहित भुवन कुमार रोक्का, नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौं स्थान बाँडे।

यस्तै १-ओभर ६९ को स्कोर बनाएका भुवन नगरकोटी तथा एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र महेन्द्र फगामीले संयुक्तरुपमा आठौं स्थान बाँडे।

रोयल नेपाल  गल्फ क्लब (आरएनजीसी) मा रामेले दोस्रो होलमा एक सट खेर फाल्दा बाकी आठ होलमा पार बचाए। फ्रन्ट नाइन १–ओभर ३५ खेले। यसपछि ब्याक नाइन बोगी रहित खेल्दै चार होलमा बर्डीको सफलता प्राप्त गरे। उनले १०औं, ११औं, १३औं र १८औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४–अन्डर ३० मा सकाए।

रविले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ र ब्याक नाइन १–अन्डर ३३ खेले। उनले पहिलो, नवौं र दशौं होलमा बर्डी प्रहार गर्दा बाकी १५ होलमा पार जोगाए।

जयरामले फ्रन्ट नाइन इभन–पार ३४‌ मा सकाए। उनले चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दा तेस्रो, पाँचौं र छैटौं होलमा एक–एक सट खेर फाले। उनी ब्याक नाइनमा सम्हालिए। १०औं होलमा बोगी खेपे पनि १२औं, १३औं र १६औं‌ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे।

एमेच्योरतर्फ राहुल र महेन्द्र १–ओभर ६९ सहित संयुक्तरुपमा शीर्षस्थानमा छन्। राहुलले फ्रन्ट नाइनमा १–ओभर ३५ र ब्याक नाइनमा इभन–पार ३४ खेले। महेन्द्रले भने फ्रन्ट नाइनमा ४–अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। तर ब्याक नाइन भने ५–ओभर ४९ मा सकाए।

चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा‌ उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन्। ३६ होलको खेलपछि कट हुनेछ। शीर्ष १८ व्यावसायिक र एमेच्योर  खेलाडीहरूले अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गर्नेछन्।‌

सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशी कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। विजेताले उपाधि सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले १ लाख ५ हजार र  तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

यस्तै, चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार हात पार्नेछन्। शीर्ष १८ स्थानसम्म रहने खेलाडीहरूले नगद  पुरस्कार प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad