खेल


एसिया कप राइजिङ स्टार्स : सेमिफाइनल दौडबाट १ खेलअगावै बाहिरियो नेपाली महिला टोली

एसिया कप राइजिङ स्टार्स : सेमिफाइनल दौडबाट १ खेलअगावै बाहिरियो नेपाली महिला टोली

नेपालखबर
फागुन ३, २०८२ आइतबार ११:४६, काठमाडौँ

सम्झना खड्का र पूजा महतोको अर्धशतकका बाबजुद नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा लगातार दोस्रो हार व्यहोरेको छ।

नेपालको महिला टोली आइतबार भएको खेलमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग १८ रनले पराजित भएको हो।

शुक्रबार भएको पहिलो खेलमा नेपाली टोली पाकिस्तानको ए टोलीसँग ३० रनले पराजित भएको हो।

लगातार दुई खेलमा हार भोगेपछि नेपाली टोली सेमिफाइनल दौडबाट बाहिरिएको छ। समूह एमा रहेको नेपाल अंक तालिकाको पुछारमा छ।

लगातार २ खेलमा जित निकालेको यूएई भने ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। एक खेलबाट २ अंक भएको पाकिस्तान ए टोली दोस्रो र अंक विहिन भारतीय ए टोली तेस्रो स्थानमा छ।

युएईले दिएको १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर सम्झना खड्का र कप्तान पुजा महतोले अर्धशक पूरा गरेपनि टोलीको हार टार्न भने सकेनन्। ओपनर सम्झनाले ३९ बलमा ११ चौका सहयोगमा ५८ रन बनाउँदा हिना होटचन्दनीको बलमा रिनिथा रजिथको हातबाट क्याच आउट हुन पुगिन्। 

कप्तान पुजा महतो ३५ बलमा ८ चौका र १ छक्का सहयोगमा ५३ रन बनाउँदा हिना कै बलमा विकेटकिपरको हातबाट क्याच आउट हुन पुगिन्। 

ओपनर बिन्दु रावल १८ बलमा ३ चौका मद्धतमा १६ रन बनाउँदा इन्दुजा नन्दाकुमारको बलमा क्याच आउट भईन्। 

सीता रानामगर २२ र रोमा थापा ९ रनमा अविजित रहिन्। कविता कुवँर ७ र रुवि पोडार ४ रनमा पेभेलियन फर्के।

त्यसअघि थाइल्यान्डको बैककस्थित टे«डथाइ क्रिकेट मैदानमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८९ रनको विशाल योगफल तयार पारेको थियो।

युएईका लागि कप्तान इसा ओझा १ सय २५ रन बनाउँदा रनआउट हुन पुगिन्। ६३ बलमा १४ चौका र ९ छक्का सहयोगमा १ सय २५ रन बनाएकी इसा रिया शर्माको बलमा रुवि पोडारबाट रन आउट भइन्।

हिना ओटचन्दनी ४५ रनमा अविजित रहिन्। रिनिथा रजिथ ४ रन बनाउँदा कविता कुँवरको बलमा एलबीडब्लु धरापमा परिन्। 

ओपनर तिर्था सतिस १ रनमा मनिषा उपाध्यायको बलमा बोल्ड आउट भइन्। समारिका धर्निडार्का शुन्य रनमा नै आउट भइन्। 

नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता कुवँरले एक विकेट आफ्नो नाममा गरे। 

समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको ए टोलीसँग खेल्ने तालिका छ। एसिया कपमा सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल २२ फेब्रुअरीमा हुनेछ।

एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाली टोली भारत, पाकिस्तान र युएई रहेको समूह एमा छ। 

समूह बीमा आयोजक थाइल्यान्डसहित बंगलादेश, मलेसिया र श्रीलंका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad