सोमबार मुम्बईको वानखेडे स्टेडियम जिम्बावेविरुद्ध वेस्ट इन्डिजको त्यो 'पावर-हिटिङ' को साक्षी बन्यो, जसले प्रतियोगिताको समीकरण नै खलबल्याइदिएको छ। छक्का र चौकाको वर्षा भइरहँदा दर्शकदीर्घामा रहेका भारतीय समर्थकले त भरपुर मनोरञ्जन लिए तर उनीहरूलाई पत्तो थिएन— क्यारेबियन ब्याटरको हरेक 'बिग हिट' ले टी-२० विश्वकपमा आफ्नै टोलीको सेमिफाइनल यात्रालाई कठिन बनाइरहेको छ।
वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रनको विशाल योगफल खडा गर्यो। यो टी-२० अन्तर्राष्ट्रिय इतिहासकै दोस्रो ठूलो स्कोर हो। यसअघि सन् २००७ को पहिलो विश्वकपमा श्रीलंकाले केन्याविरुद्ध २ सय ६० रन बनाएको कीर्तिमान अझै सुरक्षित छ।
वेस्ट इन्डिजविरूद्ध १७.४ ओभरमा १४७ रन बनाउँदै जिम्बावे अलआउट भयो।
भारतको कठिन बाटो
१०७ रनको विशाल जितसँगै वेस्ट इन्डिजले आफ्नो बलियो उपस्थिति त जनायो नै, भारतका लागि सेमिफाइनलको ढोका करिब बन्द गरिदिएको छ। सुपर-८ को समूह '१' मा भारत, दक्षिण अफ्रिका, जिम्बावे र वेस्ट इन्डिज छन्। पहिलो खेल सकिँदा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले अंक तालिकामा खाता खोलेका छन् भने भारत र जिम्बावे हारको दबाबमा छन्।
अंक तालिका
वेस्ट इन्डिज: +५.३५ नेट रनरेट सहित शीर्ष स्थानमा
दक्षिण अफ्रिका: +३.८० नेट रनरेट सहित दोस्रोमा
भारत: -३.८० नेट रनरेट सहित तेस्रोमा
जिम्बावे: -५.३५ नेट रनरेट सहित पुछारमा
अहिलेको स्थितिमा भारतका लागि केवल जित मात्र पर्याप्त छैन, 'नेट रन रेट' को गणित पनि उत्तिकै बिग्रिएको छ। अब भारतले आफ्ना बाँकी दुवै खेल (वेस्ट इन्डिज र जिम्बावे विरुद्ध) जित्नै पर्ने दबाब छ। तर, त्यतिले मात्र पुग्दैन; अन्य टोलीको नतिजा पनि भारतको पक्षमा आउनुपर्नेछ।
पूर्व क्रिकेटर आकाश चोपडा भन्छन्, "भारत अब तब मात्र सेमिफाइनल पुग्न सक्छ जब अहमदाबादमा हुने खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराउँछ। यदि दक्षिण अफ्रिका हार्छ भने हामीले प्रार्थना गर्नुपर्नेछ कि जिम्बावेले दक्षिण अफ्रिकालाई हराओस्।"
वेस्ट इन्डिजको दबदबा
यो विश्वकपमा वेस्ट इन्डिजको प्रदर्शन लोभलाग्दो छ। उसले स्कटल्याण्डलाई ३५ रन, इंग्ल्याण्डलाई ३० रन, नेपाललाई ९ विकेट, इटालीलाई ४२ रन र जिम्बावेलाई १०७ रनले पाखा लगाइसकेको छ। उसको यो लयले दक्षिण अफ्रिका र भारत दुवैलाई झस्काएको छ।
भारतीय खेल पत्रकार विक्रान्त गुप्ताले एक्समा लेखेका छन्, ''सामान्यत कुरा यस्तो हो: भारतले जिम्बाब्वे र वेस्ट इन्डिज दुवैलाई हराउनु पर्छ, तर यदि बिहीबार हुने खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायो भने भारत छनोट हुन्छ। अन्यथा २-२ जितसहित बराबर भएमा, नेट रन रेटको आधारमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले स्थान सुरक्षित गर्नेछन्।''
So basically this: while India have to beat both Zimbabwe and West Indies, they will qualify if South Africa beat West Indies on Thursday. Else SA and WI’s NRR will give them them ticket if teams are tied with 2 wins
— Vikrant Gupta (@vikrantgupta73) February 24, 2026
Shares

प्रतिक्रिया