नेपाल प्रिमियर लिग (एनपीएल) मा पारिश्रमिक नपाएको भन्दै टिप्पणी गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले पछि आफ्नो कमेन्ट हटाएका छन्।
आइतबार आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा भारतसँग पराजित भएपछि नीशमले पोखरा एभेन्जर्सको इन्स्टाग्राम पोस्टमा कमेन्ट गर्दै “खेलाडीहरूको पारिश्रमिक देऊ” भन्ने आशयको प्रतिक्रिया दिएका थिए।
उनको उक्त कमेन्ट सार्वजनिक भएपछि यो विषय राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चामा आएको थियो। पोखरा एभेन्जर्सले भने नीशमलाई दिन बाँकी रहेको पारिश्रमिकको केही हिस्सा अझै तिर्न बाँकी रहेको र अर्को सातासम्म बाँकी रकम उपलब्ध गराउने सहमति भएको जानकारी गराएको थियो।
यद्यपि सोमबार रातिसम्म आइपुग्दा नीशमले आफूले लेखेको कमेन्ट हटाएका छन्। विश्वकप फाइनलको हारको भावनात्मक असरमा उनले त्यस्तो कमेन्ट गरेका हुनसक्ने अनुमान गरिएको छ। पछि भने उनी आफ्नो अभिव्यक्तिमा अडिग नरहेजस्तो देखिएको छ।
नीशम विश्वका विभिन्न फ्रेन्चाइज लिगहरू, विशेषगरी इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका अनुभवी खेलाडी हुन्। उनको टिप्पणीले पोखरा एभेन्जर्स मात्र नभई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेट व्यवस्थापनमाथि नै प्रश्न खडा गरेको थियो।
Shares

प्रतिक्रिया