खेल


विश्व विजेता भारतलाई बीसीसीआईले १ करोड ४० लाख डलर पुरस्कार दिने

विश्व विजेता भारतलाई बीसीसीआईले १ करोड ४० लाख डलर पुरस्कार दिने

नेपालखबर
फागुन २७, २०८२ बुधबार १७:२४, काठमाडौँ

तेस्रो पटक आईसीसी टी–२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ।

बीसीसीआईले मङ्गलबार जारी गरेको वक्तव्यमा खेलाडी, प्रशिक्षक, सहयोगी स्टाफ तथा चयनकर्ताहरूको ‘ऐतिहासिक उपलब्धि’ को सम्मानस्वरूप उक्त पुरस्कार उपलब्ध गराइने जनाएको छ। बोर्डका सचिव देवजित साइकियाले यस सफलताले भारतलाई टी–२० ढाँचाको इतिहासमा सबैभन्दा सफल टोलीमध्ये एकका रूपमा स्थापित गरेको बताए।

भारतले आइतबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक ट्रफी उचाल्दै प्रतियोगिताको उपाधि कायम राख्ने पहिलो टोली बनेको हो। साथै सह–आयोजक रहेको भारत घरेलु मैदानमै टी–२० विश्वकप जित्ने पहिलो देश पनि बनेको छ।

घोषित नगद पुरस्कार खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीसहित सम्पूर्ण टोलीमा बाँडिने बताइएको छ। यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट पनि भारतले विजेताका रूपमा २३ लाख ४० हजार डलर प्राप्त गर्नेछ। उपविजेता न्युजिल्यान्डले भने ११ लाख ७० हजार डलर पुरस्कार पाउनेछ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा क्रिकेट अत्यन्त लोकप्रिय खेल हो। शीर्ष खेलाडीहरू राष्ट्रिय स्तरमा ठूलो स्टारका रूपमा चिनिन्छन् र क्रिकेटले विविध सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा काम गर्दै आएको छ।

भारतको उपाधि जितसँगै देशभरि उत्सवको माहोल देखिएको थियो। आइतबार मध्यराततिर नीलो भारतीय जर्सी लगाएका समर्थकहरू सडकमा निस्केर ड्रम बजाउँदै र बलिउड गीतहरूमा नाच्दै विजयोत्सव मनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad