अमेरिकी राष्ट्रपति कार्यालयमा विश्वकप कार्यदलका प्रमुख एन्ड्रयु गिउलियानीले विश्वकप खेल्न इरानी राष्ट्रिय फुटबल टोली अमेरिका आयो भने स्वागत गरिने बताएका छन्।
बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यदि इरानी राष्ट्रिय फुटबल टोली विश्वकपका लागि अमेरिका आउँछ भने स्वागत र सुरक्षित गरिनेछ।’
उनले उक्त कुरा टेक्सासमा आयोजित वार्षिक कन्जरभेटिभ राजनीतिक कार्य सम्मेलनका क्रममा बताएका हुन्।
गिउलियानीले अगाडि भनेका छन्, ‘हामीलाई आशा छ- इरानी टोली आउनेछ। मलाई लाग्छ- यो अमेरिकामा रहेका इरानी समुदायका लागि आफ्नो देशको उत्सव मनाउने एक अद्भुत अवसर हो।’
इरानको विश्वकप समूह चरणका खेल लस एन्जलस र सियाटलमा आयोजना हुने तालिका छ।
यद्यपि इरानको खेलकुद मन्त्रालयले आफ्नो राष्ट्रिय टोली र खेलाडीलाई ‘शत्रु देशहरू’मा हुने कार्यक्रममा भाग लिन प्रतिबन्ध लगाएको छ।
दुई हप्ताअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा इरानी फुटबल टोली अमेरिका आउनु ठिक नहुने बताएका थिए।
ट्रम्पले भनेका थिए, ‘इरानी टोलीको जीवन र सुरक्षाको चिन्ता छ।’
उनको त्यस्तो भनाइले हंगामा मच्चाएको थियो।
ट्रम्पको उक्त अभिव्यक्ति दिएको एक हप्तापछि इरानी अधिकारीले इरानका खेल मेक्सिकोमा सार्न अनुरोध गरेका थिए तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले त्यसलाई अस्वीकार गरेको थियो।
गिउलियानीले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले आफ्नो पोस्ट इरानी महिला राष्ट्रिय फुटबल टोलीका सदस्यले अस्ट्रेलियामा शरण खोज्ने विचार गरिरहेका बेला लेखेका थिए।’
गिउलियानीका अनुसार ‘तर अब ट्रम्पले इरानी टोलीलाई स्वागत गर्छन्।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्।
Shares

प्रतिक्रिया