विभागीय टोली एपीएफसँग पराजित भएपछि सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहने मौका गुमाएको छ।
सोमबार भएको खेलमा सुदूरपश्चिम एपीएफसँग ४५ रनले पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। पिएम कपमा सुदूरपश्चिमले दोस्रो हार व्यहोरेहो हो। ५ खेलमा जित र २ खेलमा हार भोगेको सुदूरपश्चिम १० अंकमा तालिकाको दोस्रो स्थानमा रहेको छ।
सुदूरपश्चिमभन्दा एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब तालिकाको शीर्ष स्थानमा छ।
बलियो टोली सुदूरपश्चिमलाई हराएको एपीएफ ७ अंकमा तालिकाको छैटौँ स्थानमा रह्यो। पुलिस क्लब, लुम्बिनी प्रदेश, मधेश प्रदेश र एपीएफको तालिकामा समान ७ अंक छ।
एपीएफले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा २ सय १४ रनमा अलआउट भयो।
सुदूरपश्चिमका अशोक धामीले अर्धशतक पूरा गरे। ओपनर अविशेक पलले ४४, दिपक बोहोराले २४ र मिलन बोहोराले २३ रन थपे। खडक बोहोरा १६ र नरेन भट्ट १५ रनमा आउट भए।
एपीएफका युवराज खत्रीले ५ विकेट लिए। अविशेक गौतमले द्ुई विकेट लिए। कमल ऐरि र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि जनकपुरको रामजानकी बहुउदेश्यीय स्टेडियममा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५९ रनको योगफल तयार पारेको हो।
एपीएफका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। उनले ४५ बलमा ९ चौका र १ छक्का सहयोगमा ५५ रन बनाए। लोकेश बलमे ४७ र ओपनर दीपक बोहोराले ४६ रन थपे।
कमल ऐरि १३ रनमा अविजित रहे। अमर राउटेला १२ र कप्तन रोहित पौडेलले ११ रन बनाए। अन्य चार ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमका लागि शेर मल्लले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४५ रन दिए।
विकास अग्री र अशोक धामीले समान २ विकेट लिए। हेमन्त धामी र नरेन भट्टले समान एक विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया