कोसी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ हार व्यहोरेको छ।
बुधबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको हो। जारी पीएम कपमा कोसीले अहिलेसम्म एक खेलमा पनि जित निकाल्न सकेको छैन।
अंक तालिकाको पुछारमा रहेको कोसी एक खेलमा अंक बाँड्दै १ अंकसहित तालिकाको पुछारमा छ। कोसीलाई हराएको बागमतीले भने तीन खेलमा जित र चार खेलमा हार भोग्दै ६ अंकसहित तालिकाको सातौँ स्थानमा छ।
बुधबार कोसीले दिएको एक सय रनको झिनो लक्ष्य बागमतीले नौ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो। बागमतीका विवेक मगरले ६१ रनको अविजित पारी खेले। उनले २८ बलमा १० चौका र २ छक्का प्रहार गरे। पाँच बलमा एक चौका र दुई छक्का हानेका प्रतिश जिसी १७ रनमा नटआउट रहे।
ओपनर रिनजिन लामा १७ रनमा क्याच आउट भए। शुभ कंसाकार एक रनमा आउट भए। इशान पाण्डेले खाता खोल्न सकेनन्। कोसीका विपिन महतोले दुई र ज्ञानेन्द्र श्रेष्ठले एक विकेट लिए।
त्यसअघि जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश २८.२ ओभरमा ९९ रनमा अलआउट भयो।
कोसीलाई कम स्कोरमा समेट्न कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। रिजन ढकालले दुई तथा प्रतिश जीसी र इशान पाण्डेले समान एक विकेट आफ्नो नाममा गर।
कोसीका कप्तान सुजन थपलियाले २१, अंकित सुवेदीले १९, रोहन शाहले १८ र सिवांस बजगाइले १० रन बनाए। अन्य सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
Shares

प्रतिक्रिया