मधेश प्रदेश एपीएफ क्लबसँग पराजित भएसँगै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
सोमबार भएको खेलमा मधेश प्रदेश एपीएफसँग ७४ रनको हार व्यहोरेपछि सुदूरपश्चिम फाइनलमा पुगेको हो। पीएम कपको फाइनल पुग्ने सुदूरपश्चिम प्रदेशकै पहिलो टोली हो।
सुदूरपश्चिमले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
पीएम कपमा मधेशले अब एक खेल खेल्न बाँकी छ। तर त्यो खेलमा मधेशले जित हात पारेपनि फाइनल पुग्न पर्याप्त हुनेछैन।
आर्मी भने दुई खेल अघि नै फाइनल पुगिसकेको थियो। आर्मीले अब एक खेल खेल्न बाँकी छ। आर्मी पीएम कपमा अपराजित एक्लो टोली हो। ७ खेलमा जित निकालेको आर्मी १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ६ खेलमा जित र ३ खेलमा हार भोगेको सुदूरपश्चिम १२ अंकमा तालिकाको दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो।
५ खेलमा जित, ३ खेलमा हार र एक खेलमा अंक बाँडेको एपीएफ भने ११ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लेको छ। ८ खेलबाट समान ९ अंक जोडेको पुलिस क्लब चौथो र मधेश प्रदेश पाचौँ स्थानमा छन्। ८ खेलबाट ८ अंक बनाएको बागमती प्रदेश भने छैटौँ स्थानमा छ।
एपीएफले दिएको ३ सय ९१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मधेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १६ रन मात्र बनाउन सक्यो।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा मधेश प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९० रनको योगफल तयार पारेको हो।
एपीएफका आशिफ शेखले २ सय ८ रनको योगदान दिए। उनले १ सय ४२ बलमा १५ चौका र १७ छक्का हान्दा रिटायर्ट हर्ट हुदै पेभेलियन फर्के। पीएम कप इतिहासमा दोहोरो शतक पूरा गर्ने आशिफ पहिलो खेलाडी हुन्।
आशिफको कीर्तिमानी प्रदर्शनमा एपीएफले पीएम कपमा कीर्तिमानी लक्ष्य दिएको हो।
कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौका र १ छक्का सहयोगमा ५५ रन थपे। दिपक बोहोराले १३ रन बनाउँदा क्याच आउट हुन पुगे।
सन्दीप जोरा ५६ रन बनाउँदा रुपेश सिंहको बलमा कट एण्ड बोल्ड हुन पुगे। सुमित महर्जन ४ रन बनाउँदा रुपेश कै बलमा क्याच आउट हुन पुगे।
लोकेश बम २१ र कमल ऐरि १८ रनमा अविजित रहे।
मधेशका लागि रुपेश सिंहले ३ विकेट लिए। रञ्जित कुमारले समान एक विकेट लिए।
आजै जनकपुरमा भएको अर्को खेलमा आर्मीले कोशी प्रदेशमाथि १ सय ८५ रनको विशाल जित हात पारेको छ। आर्मीले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १ सय ७७ रन बनाउँदा अलआउट भयो।
रामजानकी बहुउदेश्यीय स्टेडियममा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६२ रनको विशाल योगफल तयार पारेको हो।
आर्मीका लागि ओपनर तथा कप्तान विनोद भण्डारीले सर्वाधिक १ सय ८९ रनको योगदान दिए। उनले १ सय ५० बलमा २१ चौका र ५ छक्का प्रहार गरे।
भीम सार्कीले ८० रन थपे। भिमले ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। जितेन्द्र ठाकुरले २५ बलमा २ चौका र २ छक्का सहयोगमा ३१ रन बनाए।
तृतराज दासले ३३ रन बनाए। कुशल मल्ल र बसिर अहमद समान ५ रनमा पेभेलियन फर्के। नरेन साउद ९ र अर्जुन साउद ४ रन बनाउँदा रनआउट हुन पुगे।
Shares

प्रतिक्रिया