युईएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। गएराति क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने चार वटै टोलीको टुंगो लागेको हो।
गएराति सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै सेमिफाइनल पक्का गरेको हो। पहिलो लेगमा २–१ को अग्रता लिएको बायर्नले घरेलु मैदानमा ४–३ को जित हातपार्दै समग्रमा ६–४ गोल अन्तरले विजयी भयो।
खेलको पहिलो मिनेटमै पाहुना टोली मड्रिडले अर्दा गुलरको गोलमा समग्रमा बराबरी गरेको थियो। तर छैठौँ मिनेटमै बायर्नले गोल फर्कायो र पुनः अग्रता बनायो।
एलेक्सान्डर पाव्लोभिकले बायर्नलाई अग्रता दिलाए। तर गुलरले २९ औँ मिनेटमा फेरि रियललाई खेलमा फर्काए। ह्यारी केनले ३८ औँ मिनेटमा फेरि अग्रता दिलाए पनि केलियन एम्बाप्पेले ४२ औँ मिनेटमा गोल गरे।
तर ८६ औँ मिनेटमा अडुआर्डो कामाभिङ्गाले रेडकार्ड पाउँदा रियल १० खेलाडीमा सिमित भयो। त्यसपछि बायर्नले लुइस डियाज र मिचेल ओलिसको गोलमा जित पक्का गर्यो।
सोही समयमा भएको अर्को खेलमा इङ्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल पक्का गर्यो।
पहिलो लेगमा आर्सनल १–० ले विजयी भएको थियो। त्यही नतिजा सेमिफाइनलका लागि पर्याप्त बन्यो।
स्पेनिस क्लब एथ्लेटिको मड्रिड र फ्रेन्च क्लब पीएसजी यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्। एथ्लेटिको बार्सिलोनालाई र पीएसजी लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा पुगेका हुन्।
अब फाइनल प्रवेशका लागि बायर्न र पीएसजी तथा आर्सनल र एथ्लेटिको मड्रिड भिड्नेछन्।
Shares

प्रतिक्रिया