घरेलु टोली रुवान्डालाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित दर्ता गरेको छ।
बुधबार भएको खेलमा नेपाली टोलीले रुवान्डालाई दुई विकेटले पराजित गरेको हो। पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा भने इटालीलाई ५० रनले हराएको थियो।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपाली टोलीले दुई बल अगावै आठ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन्। उनले ४२ बलमा ७ चौका हानिन्।
विन्दु रावल १० र कप्तान इन्दु बर्मा एक रन बनाउँदा पेभेलियन फर्के। उपकप्तान पूजा महतो १३ रनमा आउट भईन्। रुविना क्षेत्री दुई, कविता कुवँर शून्य, कविता जोशी र रुवि पोडार एक–एक रनमा पेभेलियन फर्के।
त्यसअघि रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल ‘बी’मा टस जितेर ब्याटिङ गरेको घरेलु टोली दुई बल अगावै ८८ रनमा अलआउट भयो। घरेलु टोलीका लागि एलिज इकुज्वेले १७ र मेभिले उवासेले १५ रन बनाइन्।
त्यस्तै, क्लारिस उवासेले १३ र रोजिन इरेराले १२ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
रुवान्डालाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरीले तीन विकेट लिइन्। पूजा महतो र कविता कुँवरले समान दुई विकेट लिए। मनिषा उपाध्याय र रिया शर्माले एक–एक विकेट आफ्नो नाममा गरे।
नेपालले शुक्रबार भानुआटुसँग खेल्नेछ। आइतबार अमेरिकासँग खेल्ने तालिका छ। यसैगरी २८ अप्रिलमा रुवान्डासँग, ३० अप्रिलमा भानुआटासँग र अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी १ मेसम्म रुवान्डामा चल्नेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।
Shares

प्रतिक्रिया