नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसी विश्वकप लिग–२ अघि लयमा देखिएका छन्।
घरेलु मैदानमा यूएईविरुद्ध नेपाली टोलीले टी–२० सिरिज खेल्दा भुर्तेलले आफू लयमा रहेको देखाएका हुन्। पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न नसके पनि दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित जित हात पा¥यो।
त्यसमा महत्त्वपूर्ण प्रदर्शन भुर्तेलले गरे। यूएईविरुद्धको दोस्रो खेलमा ओपनर भुर्तेल ८४ रनमा अविजित रहे। उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे।
भुर्तेलले ३१ बलमा ९ चौका र १ छक्का सहयोगमा अर्धशतक हानेका थिए। टी–२० आईमा १४औँ अर्धशतक हानेका कुशलले यो जितमा विशेष ‘सेलिब्रेसन’ गरे।
‘ममी र प्रेमिका आउनुभएको थियो। त्यो सेलिब्रेसन उहाँहरुको लागि थियो’, खेलपछि कुशलले भने, ‘भारत र श्रीलंकामा भएको आईसीसी टी–२० विश्वकप खेलेर फर्किएपछि नेपाली टोलीको पहिलो टी–२० आई खेल थियो।’
त्यसो त घरेलु मैदानमा नेपाली टोलीले दुई वर्षपछि खेल्ने मौका पाएको हो।

उनले भने, ‘२ वर्षपछि टीयूमा खेलेको। त्यो पनि फ्लडलाइटमा स्पेसल भयो। पहिलो खेलमा सुरुवात राम्रो भए पनि रन बनेन तर दोस्रो खेलमा प्लानमा आएका थियौँ। त्यहीअनुसार भयो।’
पहिलो खेलमा रन आउट भए पनि दोस्रो खेलमा उनको प्रदर्शन अब्बल थियो। विश्वकपबाट फर्किएपछि घाइते भए पनि कुशलले जय ट्रफी खेलेको थिए। पीएम कपमा भने उनले आराम गरे।
यूएईसँग सिरिज बराबरी गरेपछि उनले भने, ‘टीयू आफ्नै मैदानजस्तो लाग्छ।’
टोलीका अन्य खेलाडीको प्रदर्शन पनि दोस्रो खेलमा राम्रो भएको कुशलको भनाइ छ।
‘हेमन्तले पहिलो खेलमा राम्रो गर्न नसके पनि आज राम्रो खेलेको थियो। सन्दीपले राम्रो गरिरहेको छ’, उनले भने, ‘बलरले गर्दा नै जित्न सकेजस्तो लाग्छ। राम्रो बुस्टअप छ, ओडीआईमा राम्रो हुन्छ जस्तो लागेको छ। अबको दुई सिरिज हाम्रो लागि महत्त्वपूर्ण छ।’
घरेलु मैदानमा यूएईविरुद्धको दुई खेलको सिरिज बराबरी गरेपछि नेपाली टोली अब आईसीसी विश्वकप लिग–२ को तयारीमा जुटेको छ।
नेपालले शनिबारदेखि घरेलु मैदानमा ओमान र यूएईसँगको त्रिकोणात्मक सिरिज खेल्दै छ। नेपाली टोलीले घरेलु मैदानमा लिग–२ अन्तर्गत लगातार २ सिरिज खेल्नेछ।

पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र यूएईसँग खेल्नेछ। सो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख १२ देखि २२ गतेसम्म चल्नेछ।
वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाली टोलीले अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेल्ने तालिका छ।
लिग २ को अंक तालिका सुधारका लागि अबका दुई सिरिज नेपाली टोलीका लागि महत्वपूर्ण छ।
लिग–२ अंक तालिकामा सातौँ
आइसीसी विश्वकप लिग–२ को अंक तालिकामा नेपाली टोली सातौँ स्थानमा छ। लिग–२ मा २० खेल खेलिसकेको नेपालले ५ खेलमा जित निकाल्दा १३ खेलमा हार व्यहोरेको छ। २ खेलमा भने नेपालले अंक बाँडेको छ।
१२ अंकमा सातौँ स्थानमा रहेको नेपालका लागि घरेलु मैदानमा हुने दुई सिरिज अंक सुधारका लागि महत्वपूर्ण रहेको छ।
समान २० खेलबाट ५ खेलमा जित र १५ खेलमा हार भोगेको युएई १० अंकमा तालिकाको पुछारको छ। २४ खेलबाट २९ अंक भएको ओमान भने तेस्रो स्थानमा छ।
२४ खेलबाट १८ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २८ खेलमा १४ खेलमा जित र ८ खेलमा हार भोगेको स्कटल्यान्ड ३४ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको छ।
लिग–२ खेल्ने नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी
वैकल्पिक खेलाडीः हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल
Shares

प्रतिक्रिया