आइसीसी महिला टी–ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ।
रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ८७ रनको लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन् भने सैनभी कम्बालापालीले २१ तथा पुजा गनेशले २० रन बनाइन्।
बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक एक विकेट लिए।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो। नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन्। त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पूजा महत्तो र कविता कुँवरले समान ८-८ रन जोडे।
बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २-२ विकेट लिए।
पाँच खेलमा ३ खेलमा पराजित नेपाल अंक तालिकामा तेस्रो स्थानमा छ। समान ५ खेल खेलेका अमेरिका पहिलो र रुवान्डा दोस्रो स्थानमा छन्।
यसअघि पनि नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो। त्यसपछि इटाली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआटुसँग पराजित भएको थियो। डबल राउण्ड रोबिन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
Shares

प्रतिक्रिया