खेल


भानुआटामाथि नेपालको फराकिलो जित

भानुआटामाथि नेपालको फराकिलो जित

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार २०:०, काठमाडौँ

कविता कुवँरको घातक बलिङमा आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले भानुआटालाई पराजित गरेको छ। बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भानुआटामाथि ८३ रनको फराकिलो जित दर्ता गरेको छ।

योसँगै महिला टोलीले पहिलो राउण्डमा भोगेको हारको बदला समेत लिएको छ। पहिलो राउण्डमा नेपालको महिला टोली भानुआटासँग २२ रनले पराजित भएको थियो। 

नेपालले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको भानुआटा १६.४ ओभरमा ४९ रनमा अलआउट भयो। 

भानुआटाका दुई खेलाडीले मात्र दोहोरो अंकको स्कोर छुन सके। चार ब्याटर शुन्य रनमा नै पेभेलियन फर्के। 

भानुआटालाई कम स्कोरमा रोक्न नेपालका लागि कविता कुवँरले ६ विकेट लिईन्। उनले ३.४ ओभरमा १ मेडन राख्दै ५ रन दिएर ६ विकेट आफ्नो नाममा गरिन्। 

पूजा महतो र रचना चौधरीले समान २ विकेट लिए। 

त्यसअघि रुवान्डाको किगालीस्थित गहंगा इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पारेको थियो। 

नेपालकी ओपनर सम्झना खड्काले ५२ रनको योगदान दिईन्। पूजा महतोले १९ रन थपिन्। विन्दु रावल ७ रन बनाउँदा रिटायर्ट हर्ट हुदै पेभेलियन फर्किईन्। रुवि पोडार १ रनमा आउट भईन्। कप्तान इन्दु बर्मा ४३ र कविता कुवँर ६ रनमा अविजित रहे। 

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। प्रतियोगिताका ७ खेलमध्य चार खेलमा जित र ३ खेलमा हार भोगेको नेपाल ८ अंकमा दोस्रो स्थानमा छ। समान खेलबाट १२ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ।

नेपालसँगै समान ८ अंक भएको आयोजक रुवान्डा नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ। ६ अंक भएको इटाली चौथो र २ अंक भएको भानुआटा तालिकाको पुछारमा छ। 

नेपालले अन्तिम खेलमा भोलि शुक्रबार इटालीसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad