भारतमा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।
साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक नविन न्यौपानेले ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए। वैशाख १४ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरिएको भए पनि खेलाडी उपस्थित नभएपछि बुधबारदेखि मात्र सुरु भएको हो।
भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा श्रीलंका र भुटान रहेको समूह ‘ए’ मा नेपाल छ। समूह ‘बी’मा साविक विजेता बंगलादेश, भारत र मालदिभ्स रहेका छन्।
साफ समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। त्यही दिन समूह ‘बी’का मालदिभ्स र भारत खेल्ने तालिका छ।
त्यस्तै, जेठ १४ गते श्रीलंका र भुटान तथा बंगलादेश र मालदिभ्स खेल्नेछन्। जेठ १७ गते नेपाल र श्रीलंका तथा भारत र बंगलादेश खेल्नेछन्।
सेमिफाइनल खेल जेठ २० गते तथा उपाधि भिडन्त जेठ २३ गते शनिबार हुनेछ। साफ च्याम्पियनसिपका खेलहरू पण्डित जवाहरलाल नेहरू स्टेडियम गोवामा हुनेछन्।
नेपालको प्रारम्भिक टोली: एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, विर्सना चौधरी, दिपा शाही, गिता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मिना देउवा, नेहाकुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रिती राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुक्रिया मिया, शुशिला कुमारी र उषा नाथ।
Shares

प्रतिक्रिया