यसपालिको फिफा विश्वकपले नयाँ बेन्चमार्क खडा गर्दै छ। इतिहासमै पहिलोपटक तीन स्थानमा उद्घाटन गरी विश्वकप हुनलागेको हो।
क्यानडा, मेक्सिको र अमेरिकामा उद्घाटन भएसँगै साझा उत्सवका रुपमा फुटबल विश्वकप सुरु हुनेछ। अमेरिकामा हुने विश्वकपको उद्घाटन चर्चित सहर लस एन्जलसमा हुनेछ। यसलाई विश्वको मनोरञ्जन राजधानी पनि मानिन्छ। जसले फुटबल, संगीत र मनोरञ्जनलाई विश्वव्यापी रुपमा एकसाथ ल्याउने विश्वास गरिएको छ।
जुन १२ मा लस एन्जलस रंगशालामा हुने उद्घाटन समारोहले संस्कृति, ऊर्जा र खेलको ऐक्यबद्ध शक्तिलाई दर्शाउनेछ। लस एन्जलसमा विश्वव्यापी सुपरस्टारहरू केटी पेरी, फ्युचर, अनिता, लिसा, रेमा र टायराले समारोहमा प्रस्तुति दिनेछन् भने थप विश्वप्रसिद्ध कलाकारहरूको घोषणा हुन बाँकी छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले लस एन्जलसमा हुने उद्घाटन समारोहले फिफा विश्वकप २०२६ कस्तो हुन्छ भन्ने स्तरको प्रतिनिधित्व गर्ने बताएका छन्। कलाकारको लाइनअपले अमेरिकाको सांस्कृतिक विविधता र यसका धेरै डायस्पोराको जीवन्ततालाई प्रतिविम्बित गर्छन्।
अमेरिकाअघि नेपाली समयअनुसार जुन १२ मा विश्वको नजर मेक्सिकोमा हुनेछ। फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा विश्वव्यापी संगीतका रोमाञ्चक आवाजलाई एकसाथ ल्याउनेछ।
विश्वकप फुटबल यसपालि ३ देशमा, अर्कोपालि ६ देशमा खेलाएर ‘शताब्दी समारोह’ मनाइने
विश्वकपलाई जीवन्त बनाउन शक्तिशाली प्रस्तुतिका लागि अलेजान्ड्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओशन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस, माना र टायला समावेश छन्। विश्वकप २०२६ उद्घाटन गर्ने पहिलो राष्ट्रको रुपमा मेक्सिकोले क्यानडा र अमेरिकामा हुने उद्घाटन समारोहका लागि चरण तय गर्नेछ।
अध्यक्ष इन्फान्टिनोले मेक्सिको सिटीबाट सुरु हुँदै क्यानडाको टोरन्टो र लस एन्जलसमा उद्घाटन समारोहलाई जारी राख्दै संगीत, संस्कृति र फुटबललाई एकसाथ ल्याउने विश्वास राखेका छन्। विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
१२ जुनमा नै क्यानडाले पनि विश्वकपको उद्घाटन समारोह आयोजना गर्नेछ।
क्यानडामा हुने उद्घाटन समारोहमा एलानिस मोरिसेट, एलेसिया कारा, एलियाना, जेसी रेयेज, माइकल बुब्ले, नोरा फतेही, सञ्जय, भेगेड्रिम, विलियम प्रिन्स र अन्य कलाकारले प्रस्तुति दिनेछन्।
टोरन्टोमा हुने उद्घाटन समारोह क्यानडाको पहिचान र विश्वकप २०२६ मा उर्जाको शक्तीशाली प्रतिबिम्ब हुने अध्यक्ष इन्फान्टिनोले बताए। तीनै आयोजक देशमा हुने उद्घाटन समारोह खेल सुरु हुनुभन्दा ९० मिनेट अघि सुरु हुनेछ।
फिफा विश्वकप २०२६ मा १ सय ४ खेलहरू १६ सहरमा हुनेछन्। फिफा विश्वकप २०२६ को पहिलो खेल नेपाली समयअनुसार जुन १२ मा मेक्सिकोमा हुनेछ। फाइनल खेल भने १९ जुलाईमा न्युयोर्कको न्यु जर्सी स्टेडियममा हुनेछ।
Shares

प्रतिक्रिया