राष्ट्रिय खेलकुद परिषद्ले कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा तीन वर्षमा ४८ लाख ६९ हजार ५२ रुपैयाँ खर्च गरेको बताएको छ।
मंगलबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै राखेपले अन्तर्राष्ट्रिय सहभागिताका लागि चालू आर्थिक वर्षमा मात्र खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई हवाइजहाज टिकट, खाना तथा बसोबास र फुटकर खर्चबापत २६ लाख ६ हजार ५४३ रुपैयाँ भुक्तानी भइसकेको बताएको हो।
राखेपका अनुसार आर्थिक वर्ष २०८०÷८१ देखि हालसम्म ४८ लाख ६९ हजार ५२ रुपैयाँ भुक्तानी गरिसकिएको छ।
आर्थिक अभावको कारण देखाउँदै राखेपले चीनको लेसानमा भएको कराते वान प्रिमियर लिगमा सहभागी हुन जाँदा एरिकालाई आर्थिक सहयोग गरेको थिएन। बजेट अभावका कारण आर्थिक सहयोग गर्न नसक्दा परिषद्ले सहयोग नभएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा परिषदका सहायक प्रशिक्षक समेत रहेका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले लगाएको आरोप प्रति परिषदको गंभिर ध्यानाकर्षण भएको बताएको छ।
राखेपले भनेको छ, ‘मिसन २०२६ अन्तर्गत विगत बर्षहरु देखि नै खेलाडीहरुलाई सीमित स्रोत साधनका बाबजुद नियमित विशेष प्रशिक्षण गराइरहेको छ। तर विगत दुई महिनादेखि बजेट अभावमा सो प्रशिक्षण प्रभावित भएको छ।’
सोही क्रममा विशेष प्रशिक्षणमा रहेकी प्रतिभावान खेलाडी एरिका गुरुङ चीनको लेसानमा भएको कराते वान प्रिमियर लिगमा सहभागी भई नेपाललाई रजत पदक दिलाउन सफल भएकी थिइन्। सो प्रतियोगितामा जानका लागि बजेट अभावका कारण आर्थिक सहयोग गर्न नसकिएको भन्दै परिषद्ले दुख व्यक्त गरेको छ।

तर खेलाडी गुरुङलाई सो प्रतियोगितामा सहभागी हुन विभिन्न संस्थाहरुले सहयोग पु¥याएका थिए ।
प्रतियोगितामा परिषदले सहयोग नभएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा परिषदका सहायक प्रशिक्षक समेत रहेका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले लगाएको आरोपप्रति परिषद्ले ध्यानाकर्षण भएको बताएको छ।
राखेपले एरिका गुरुङको प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता (एक्सपोजर) र पुरस्कार दिलाउन राखेपले पर्याप्त ध्यान दिएको र सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ। राखेपले विगत तीन वर्षदेखि खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबापत भएको खर्च विवरण समेत सार्वजनिक गरेको छ।
Shares

प्रतिक्रिया