खेल


टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १५:१७, काठमाडौँ

दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन (वाईटीटीएम) अन्तरराष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटिटिएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालकी योङ्गी पौडेलले पहिलो स्थान हासिल गरेकी छन्। 

यही जेठ २ देखि १२ गतेसम्म दक्षिण कोरियाको इन्चोनमा भएको उक्त च्याम्पियनसिपमा नेपालकी युवा खेलाडी योङ्गी पौडेलले यू–१९ विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जनले जानकारी दिए। 

प्रथम स्थान हासिल गरेकी पौडेललाई सन् १९८८ की ओलम्पिक स्वर्ण पदक विजेता तथा दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ योङ जाले पुरस्कार तथा सम्मान प्रदान गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष महर्जनले जानकारी दिए। 

योङ्गीले पुरस्कारस्वरूप रु १५ हजारका साथै टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्राप्त गरेकी छन्। त्यसैगरी, नेपाली टोलीका रिजन शाक्य, रिभानमुनि बज्राचार्य, प्राज्ना महर्जन र सुरम्या शाक्य सहभागी रहेको टोली इभेन्टमा प्रथम स्थान हासिल गर्न सफल भएका छन्। विजेता टोलीलाई रु ४० हजारसहित टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्रदान गरिएको थियो।

नेपालबाट यू–१३ तर्फ रिभानमुनि बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६तर्फ रिजन शाक्य र सुरम्या शाक्य तथा यू–१९ तर्फ हिमाल बिष्ट र योङ्गी पौडेल सहभागी भएका थिए। 

प्रशिक्षणका दौरान खेलाडीहरूले दक्षिण कोरियाको राष्ट्रिय प्रशिक्षण केन्द्रको अवलोकन गरेका थिए। अवलोकनका क्रममा उनीहरूले कोरियाका थुप्रै राष्ट्रियस्तरका खेलाडीहरूसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्ने अवसर पाएका थिए। प्रतियोगितामा नेपाल, फिलिपिन्स, लाओस र मङ्गोलियालगायत विभिन्न देशका प्रशिक्षार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad