खेल


साफ च्याम्पियनसिप: एक दशकपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

साफ च्याम्पियनसिप: एक दशकपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

नेपालखबर
जेठ २०, २०८३ बुधबार १८:२९, काठमाडौँ

साविक विजेता बंगलादेशसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। 

भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा भएको सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो। अघिल्ला दुई संस्करण बंगलादेशसँग फाइनलमा पराजित भएको नेपाली टोली यो पटक भने सेमिफाइनलमै रोकिएको हो। 

यसअघि सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा नेपाली टोली भारतसँग ३-१ गोल अन्तरले पराजित हुँदै अन्तिम चारबाटै बाहिरिएको थियो। त्यसको १० वर्षपछि नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको हो।  

साफ च्याम्पियनसिपको इतिहासमा नेपालले ६ पटक फाइनल खेलेको छ। त्यति नै पटक नेपाल उपविजेता बनेको थियो। 

बंगलादेशविरुद्ध खेलमा सुरुवाति अग्रता बनाए पनि नेपाली टोलीलाई त्यसलाई जोगाउन सकेन। नेपाललाई हराएसँगै बंगलादेश लगातार तेस्रो पटक फाइनलमा पुगेको छ। 

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बंगलादेशले एक गोल थप्यो। खेलको २३औँ मिनेटमा डिफेन्डर गीता रानाको गोलमा नेपालले अग्रता बनाएको हो। दिपा शाहीको कर्नरमा गीताले बललाई पोस्टको जाली चुमाएकी थिइन्। 

खेलको ४२औँ मिनेटमा दिपाको कर्नरमा रेखा पौडेलले ‘सिक्स यार्ड’बाट गरेको हेडर प्रहार बंगलादेशकी गोलरक्षकले सहजै नियन्त्रणमा लिइन्। पहिलो हाफको अन्तिम मिनेटमा मारियाको मन्डनाको फ्रि-किक प्रहार नेपालकी डिफेन्डरले क्लियर गरिन्। पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा रितु पूर्णा चक्माको कर्नर प्रहार सिधै गोलमा परिणत हुँदा बंगलादेश खेलमा फर्किएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयमा रितु पूर्णाको प्रहार नेपालकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले बचाइन्। ५५औँ मिनेटमा सामसुनारको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा बंगलादेशले अग्रता दोब्बर पार्ने मौका गुमायो। 

खेलको ५९औँ मिनेटमा प्रिती राइको फितलो प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। ६९औँ मिनेटमा सरु लिम्बूले डिबक्स नजिकबाट गरेको सशक्त प्रहार क्रसबार माथिबाट बाहिरिँदा नेपालले अग्रता बनाउने अवसर गुमायो। 

खेलको इन्ज्युरी समयमा सागोरिकाको गोलमा बंगलादेशले २-१ को अग्रता बनायो। त्यसपछि नेपाली टोलीले गोल गर्न नसक्दा नेपाल सेमिफाइनलबाटै घर फर्किएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad