खेल


‘समान तलबको संघर्ष जित्यौँ, अब नतिजा देखाउनु छ’

‘समान तलबको संघर्ष जित्यौँ, अब नतिजा देखाउनु छ’

लक्ष्मी जि.सी
मंसिर २५, २०७७ बिहिबार १५:४४,

नेपाली राष्ट्रिय फुटबल पुरुष र महिला टोलीका खेलाडीले अब समान तलब पाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीको तलब समान गर्ने निर्णय गरेको हो।

अब राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीले प्रति खेलाडी मासिक १८ हजार रुपैयाँ बुझ्नेछन्।

यो निर्णयसँगै महिला खेलाडीको तलबमा दोब्बरभन्दा पनि बढी वृद्धि भएको छ। यसअघि पाउँदै आएकोमा महिला खेलाडीको ११ हजार रुपैयाँले थप पाउनेछन्।

पुरुष खेलाडीको हकमा भने ३ हजार रुपैयाँ बढेको छ। यसअघि महिला खेलाडीले मासिक ७ हजार रुपैयाँ र पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउने गर्थे।

एन्फाको यो निर्णयको फुटबल परिवारले स्वागत गरेको छ। महिला खेलाडी, पदाधिकारी खुशी छन्। लामो समयदेखि महिला खेलाडीको तलब वृद्धी गर्न आफूहरुले गरिरहेको पहलले मुर्तरुप लिएको एन्फा महिला कमिटीकी अध्यक्ष पेमा लामा बताउँछिन्।

‘यो महिला खेलाडीहरुको लागि ऐतिहासिक दिन हो, समान तलबको लागि कति संर्घष गर्यौँ, लिखित रुपमा पनि महिला खेलाडीको तलब वृद्धी गर्न नेतृत्वसँग आग्रह गरेका थियौँ’ लामाले भनिन्, ‘आज जुन निर्णय भएको छ। यसले खुशीको कुनै सीमा नै छैन।’

राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा पनि एन्फाले गरेको निर्णयले उत्साहित भएको सुनाईन्।

‘लामो समयदेखि हामीले समान तलबको लागि आवाज उठाउँदै आएका थियौँ अहिले आएर बराबर तलब भएको छ खुशी लागेको छ। तर समान तलब भयो भन्दैमा उत्साहित भएर मात्र पनि हुँदैन। अब हामीले राम्रो नतिजा पनि दिन सक्नुपर्छ त्यसको लागि फुटबल गतिविधि बेलैमा सुरु गर्न आवश्यक छ,’ उनले भनिन्।

राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ पनि एन्फाले राम्रो निर्णय गरेको बताउँछन्।

‘महिला फुटबल टोलीले पनि राम्रो गरिरहेको छ। त्यसलै समान तलब दिनु सकारात्मक कुरा हो’ उनले भने, ‘कतिपय देशहरुले यसको अभ्यास पहिला नै सुरु गरिसकेका छन्। त्यसमा नेपाल पनि समावेश भएको छ यो नेपाली फुटबलका लागि सकारात्मक कदम हो।’

महिला र पुरुष खेलाडीको लागि समान तलब हुनु सकारात्मक भएको राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुले बताए।

उनले भने, ‘सबै कुरामा नकारात्मक टिप्पणी गरेर मात्रै हुँदैन। हामीले के दिइरहेका छौँ भनेर पनि हेर्नुपर्छ, तलब बढ्नु र घट्नु भन्दा पनि महिला पुरुष दुवैको समान तलब हुनु राम्रो कुरा हो। एन्फाको यो निर्णयबाट खुशी लागेको छ।’

महिला टोलीकी कप्तान रुेनुका नगरकोटीले सुरुमा सुन्दा विश्वास नै गर्न गाह्रो परेको सुनाइन्।

‘मैले त विश्वास नै गर्न सकिनँ। दोहोर्याएर हेरेँ। टोलीका अरु साथीहरुलाई फोन गरेर पनि सोधे,’ उनले सुनाइन्, ‘मैले त पुरुष टोलीको मात्रै १८ हजार भयो होला भन्ने सोचेको थिएँ। पछि हाम्रो ग्रुपमा आएको म्यासेज पनि हेरेँ। यति धेरै तलब बढ्छ भनेर सोचेको पनि थिइन। ११(१२ हजार होला भन्ने सोचेको थिएँ।’

एन्फा महिला विभागका प्रमुख हरि खड्काले यो निर्णयका लागि एन्फालाई धन्यवाद दिनुपर्ने बताए।

‘हामीले पहिल्यै देखि समान हुनुपर्छ अन्तराष्ट्रिय अभ्यास अनुसार हामी चल्नुपर्छ भनेर प्रस्ताव लगेका थियौं त्यसमा एन्फाले सकारात्मक रुपमा लियो त्यसमा एन्फालाई धन्यवाद दिनुपर्छ,’ उनले भने।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका खड्काले भने, ‘महिला फुटबल टोलीमा निकै सम्भावना छ। जसलाई एन्फाले पनि बुझेको छ। महिला खेलाडीलाई पनि उत्प्रेरणा दिन आवश्यक थियो। एन्फाको यो निर्णय त्यसका लागि महत्वपूर्ण कदम हो। हामीले उठाउँदै आएको विषयलाई एन्फाले गम्भीरतापूर्वक लियो, यो सुखद पक्ष हो।’

याे पनि : 

राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीलाई समान तलब

फुटबलमा विभेदः महिला खेलाडीकाे पारिश्रमिक पुरुषकाे भन्दा आधा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .