खेल


खेलाडीको तलब ४ महिना रोकेर एन्फाले किन्याे गाडी

खेलाडीको तलब ४ महिना रोकेर एन्फाले किन्याे गाडी

यज्ञराज जोशी
साउन २०, २०७६ सोमबार ११:३,

एन्फा कार्यसमितिको गत सोमबार (साउन १४) बसेको आकस्मिक बैठकले एशियाली फुटबल महासंघले उपलब्ध गराएको ५० हजार अमेरिकी डलर (५५ लाख ३२ हजार रुपैयाँ) अनुदान रकमबाट दुई वटा ईलेक्ट्रिक गाडी(कार) गरिद गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार दुई गाडी किनिसकेको एन्फा प्रवक्ता किरण राई बताए। ‘हामीले दुईवटै गाडीहरु किनिसकेका छौ,’ उनले भने, ‘अहिले प्राविधिक निर्देशक र प्रमुख प्रशिक्षकले उक्त गाडी चढ्नुहुनेछ र आवश्यकता अनुसार अन्यमा प्रयोग हुनेछ।’

anfa nirnayaसमयमा तलब दिन नसकेको एन्फाले गरेको गाडी किन्ने निर्णय

एन्फाको सोही दिनको बैठकले अष्ट्रेलियन नागरिक गेरी फिलिप्सलाई प्राविधिक निर्देशन पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। यस्तै एन्फाले गत माघमा स्विडेनका योहान कालिनलाई राष्ट्रिय प्रशिक्षकमा नियुक्त गरेको थियो। प्रवक्ता राईका अनुसार हाललाई फिलिप्स र कालिनले नयाँ खरिद गरेका गाडीहरु चढ्नेछन्।

एन्फाले दुईवटा गाडी किन्ने निर्णय गरेसँगै खेलाडीले समयमै तलब नपाएको खबर बाहिरिएपछि एन्फाका पूर्वअध्यक्ष गणेश थापा लगायतले खेलाडीको तलब नदिई गाडी किन्ने निर्णयको विरोध गरेका छन्।

एन्फाले यसअघि ३–३ महिनामा एकमुष्ट खेलाडीको खातामा तलब हाल्दै आएको थियो। राष्ट्रिय टोलीका खेलाडीले मासिक रुपमा पुरुष खेलाडीहरुले १५ हजार तथा महिला खेलाडीहरुले ७ हजार तलब पाउँदै आएका थिए। यसपटक चार महिना बितिसक्दा समेत खेलाडीको खातामा तलब गएको छैन। एन्फालाई खेलाडीभन्दा गाडी प्यारो भएको भन्दै खेलाडीले गुनासो गरेका छन्। 

‘हामीले व्यवस्थापकमार्फत तलबको विषयमा एन्फामा कुरा गरेका छौं,’ राष्ट्रिय टोलीका एक सिनियर खेलाडीले नेपालखबरसँग भने, ‘अहिले कुनै गेम नभएका बेला क्लबहरुले पनि खेलाडी रिलिज गरेका छन् र एन्फाबाट आउने पैसा पनि समयमा नआउँदा खेलाडीलाई दोहोरो मार परेको छ।’

‘खेलाडीहरुको तलब दिन नसक्ने एन्फाले बाहिरबाट आएको अनुदान रकमले गाडी किन्ने निर्णय गरेको सुन्दा नरमाइलो लाग्यो,’ ती सिनियर खेलाडीले थपे, ‘यसले एन्फाका पदाधिकारीहरुलाई खेलाडी भन्दा गाडी प्यारो रहेछ भन्ने पनि पुष्टि गर्छ।’

football trainingराष्ट्रिय फुटबल टोली यतिबेला विश्वकप छनौटको तयारी गरिरहेको छ

ए डिभिजन लिग लगायत मोफसलका गोल्डकपहरु नहुँदा यतिबेला क्लबहरु खेलाडीलाई रिलिज गरेका छन्। सिनियर टोलीका सदस्यहरु विश्वकप छनौटको तयारीमा छन् भने २३ वर्षमुनिका खेलाडीहरु दक्षिण एसियाली फुटबल(साग)को तयारीमा छन्।

एन्फाका प्रवक्ता किरण राईले खेलाडीहरुले समयमा तलब नपाएको स्वीकार्दै केहीदिनभित्रै तलब दिने तयारी भइरहेको बताए। अडिट प्रक्रियामा भएको ढिलाईका कारण खेलाडीको तलब समयमै दिन नसकिएको उनको दाबी छ।

‘खेलाडीले समयमै तलब नपाएको सत्य हो,’ उनले भने, ‘यसपटक अडिट लगायतका काम बाँकी रहेकाले तलब दिन ढिलाई भएको हो। कार्यसमितिले तलब दिने कुरा गरिसकेको छ। एक दुई दिनभित्रै तलब दिने प्रक्रिया अघि बढाउँन्छौं।’

पूर्वअध्यक्ष गणेश थापाले फेसबुकमार्फत आफ्नो पालामा एन्फाले खेलाडी तथा रेफ्रिहरुको तलब दिन बैंकमा ८ करोड रुपैयाँ ‘फिक्स डिपोजिट’ गरिएको र त्यसैको ब्याजबाट खेलाडी तथा रेफ्रिको तलब दिदैँ आइरहेको जनाएका छन्।

तर, वर्तमान एन्फाले उक्त फिक्स डिपोजिट रकम झिकेर अन्त्यै खर्च गरेपछि खेलाडीको तलब दिन समस्या आएको हुनसक्ने पूर्व अध्यक्ष थापाको भनाई छ।

थापाको प्यानललाई पराजित अहिले कर्माछिरिङ शेर्पाको नेतृत्वको एन्फाका प्रवक्ता राईले आफ्ना पालामा उक्त रकम नझिकिएको तर विभिन्न समयमा झिकिदा हाल फिक्स डिपोजिटमा ३ करोड रुपैयाँमात्रै रहेको बताए।

‘खेलाडीको तलब फिक्स डिपोजिटबाट आउने ब्याजले दिइदै आएको थियो,’ राईले भने, ‘पहिले जति विभिन्न समयमा निकालिदा अहिले फिक्स डिपोजिटमा ३ करोडमात्रै छ। त्यसको ब्याजले मात्रै खेलाडीहरुको तलब दिन पुग्दैन्। त्यसमा थपथप गरेर हामीले खेलाडीलाई तत्काल तलब उपलब्ध गराउँन्छौं।’

पटक पटक एन्फा नेतृत्वले तलब बढाउँने भनेपनि त्यसको सुनुवाई नभएको खेलाडीहरुको गुनासो छ। एन्फा पूर्वअध्यक्ष थापाले पनि फिफा र एएफसीबाट आउने अनुदान रकम बढेपनि एन्फाले खेलाडीको तलबवृद्धिमा कुनै चासो नदिएको भन्दै चिन्ता व्यक्त गरे।

‘खेलाडीहरूको पाँच वर्षदेखि तलबमा कुनै वृद्धि भएको छैन्,’ उनले लेखेका छन्, ‘हिजो विगतमा पाउँदै आएको कार, अपार्टमेन्ट जस्ता पुरस्कार पनि हटाइएको छ। मेरो कार्यकाल रहँदासम्म फिफा र एएफसीबाट ६ करोड आउँथ्यो भने अहिले आएर फिफा तथा एएफसीले संसारभरिका सबै मुलुकलाई अनुदान बढाएर ५० करोडभन्दा माथि पुगेको छ तर क्लब, जिल्ला वा खेलाडीले पाउने सुविधामा कटौती गर्दै पदाधिकारीहरुको सुविधामा भने निकै बृद्धि गरेको देखिन्छ। खेलाडीहरुले तलब नपाउने तर एन्फाले दुइटा गाडी किन्ने गरेको निर्णयबाट वर्तमान एन्फा कुन दिशातिर गइरहेको छ, प्रष्ट बुझ्न सकिन्छ।’

एन्फाका पूर्वअध्यक्ष गणेश थापाको फेसबुस स्टाटस

एन्फामा नयाँ नेतृत्व आएसँगै विभिन्न कार्यक्रम गर्दा बैंक ब्यालेन्स रित्तिएपछि एन्फाले खेलाडीहरुको तलब समेत दिन नसकेको खबर सार्वजनिक भएको थियो। तर, प्रवक्ता राईले भने त्यो सत्य नभएको बताए।

‘एन्फा भनेको फिफा, एएफसी र सरकारको अनुदानबाट चल्ने संस्था हो,’ प्रवक्ता राई दोहोर्याए, ‘हामीले सक्ने कार्यक्रममात्रै गर्ने हो। नसकिने टाँटै पल्टने गरि कार्यक्रम गरेका छैनौं। खेलाडीहरुले समयमा तलब नपाएको सत्य हो। अडिट प्रक्रियाका कारण त्यो लम्बिन गएको हो। हामी चाँडै खेलाडीहरुलाई तलब दिने प्रक्रियामा अघि बढिसकेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad