वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि तीनदिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ।
ललितपुरको लगनखेलस्थित बुद्धि विकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीका लागि फुटबल क्याम्प गर्न लागिएको वसन्त गौचन फुटबल एकेडेमीले जानकारी दिएको छ।
फुटबल क्याम्प आगामी पुस १० देखि १२ (डिसेम्बर २५ देखि २७) सम्म हुनेछ।
नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आउन लागेका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिने छन्।
साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित स्थानीय प्रशिक्षक पनि रहने एकेडेमीले जनाएको छ।

ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन्। उनी जे लिगको क्लब सोनम बेलमेरको ३ वर्ष यू-१३ का प्रशिक्षक थिए।
ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिइरहेका छन्।
उनी जापानको टोकियोस्थित फनरुट्स फुटबल एकेडेमीमा पनि आबद्ध छन्।
तीन दिनसम्म बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउँसो २ बजेदेखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई प्रशिक्षण दिइने एकेडेमीले जनाएको छ।
एक समय नेपाली फुटबलका ढुकढुकी बनेका वसन्त गौचनले ३ वर्षअघि आफ्नो नाममा फुटबल एकेडेमी स्थापना गरी बाल तथा युवालाई फुटबल प्रशिक्षण दिइरहेका छन्।
पछिल्लो साढे दुई दशकदेखि गौचन जापानलाई कर्मथलो बनाउँदै विभिन्न फुटबल प्रशिक्षणमा संलग्न छन्।
गौचनको पहलमा पछिल्लो दशकयता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाइरहेका छन्।
Shares

प्रतिक्रिया