लागुऔषध गिरोहका शक्तिशाली नेता मारिएपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्षले आगामी विश्वकप आयोजनामा कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छन्।
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्। आगामी जुन ११ तारिख मेक्सिको सिटीमा हुने उद्घाटन खेलसहित मेक्सिकोमा विश्वकपका १३ वटा खेल हुनेछन्।
तर मेक्सिकोमा सेनाले गत आइतबार गरेको कारबाहीमा देशका प्रमुख लागुऔषध तस्कर एल मेन्चोको मृत्यु भएपछि त्यहाँका २० भन्दा बढी राज्यमा हिंसा भड्किएको छ।
अब विश्वकप सुरु हुन साढे ३ महिना मात्र बाँकी छ। यस्तो अवस्थामा मेक्सिकोले सहआयोजकको जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ।
तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो यसमा विश्वस्त देखिएका छन्।
उनले कोलम्बियामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोको अवस्थाबारे निगरानी गरिरहेको उल्लेख गर्दै मेक्सिको, त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाम र सम्बन्धित निकायप्रति पूर्ण विश्वास रहेको बताए।
उनका अनुसार विश्वकपका खेल सकेसम्म सहज रूपमा सम्पन्न हुनेमा फिफा आशावादी छ।
‘मेक्सिको महान् देश हो, संसारका अन्य देशमा जस्तै यहाँ पनि घटना हुन्छन्; हामी चन्द्रमामा बस्दैनौँ’, उनले भने, यहाँका सरकार, प्रहरी र अधिकारीले व्यवस्था र सुरक्षाको प्रत्याभूति दिनेमा विश्वास छ।’
Shares

प्रतिक्रिया