खेल


बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई

नेपालखबर
फागुन २, २०८२ शनिबार २०:५८, विराटनगर

साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोल अन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ।

शनिवार धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे। चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औँ मिनेटमा गोल गरेर प्लानिङ ब्वाइजलाई पहिलो सहभागितामै उपाधि दिलाएका हुन्।

चर्चका अबोयामी फकुन्लेले दिएको मिस पासलाई एलेक्स विलियमले सेन्टर लाइनबाट राईलाई बल पास दिएका थिए। उक्त पासलाई राईले वान भर्सेज वानमा उत्कृष्ट गोल गरेका थिए। 

दोस्रो प्रयासमा प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यको साथ मैदानमा उत्रिएको चर्च ब्वाइजको डिफेन्स लाइन अघिल्लो खेलको तुलनामा निकै कमजोर देखिएको थियो। डिफेन्डर सर्जियो डिक्का र प्रवेश दनुवारले गतिलो प्रदर्शन गर्न नसक्दा त्यसको फाइदा प्लानिङ ब्वाइजले उठाएको हो।

फरवार्ड लाइनमा रहेका कप्तान मिलन राई र अबोयामी फकुन्ले पटक पटक फिनिसिङमा चुक्दा गोल गर्न सकेनन्। मिलनलाई दोस्रो हाफमा निकालेर रिचार्ड विलसनलाई मैदान प्रवेश गराउने प्रशिक्षक सुमन श्रेष्ठको रणनीतिले पनि काम गर्न नसकेपछि चर्च ब्वाइजले उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

प्रतियोगितामा च्याम्पियन बनेको एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ।

दुवै पुरस्कार राशि प्रतियोगितालाई संयोजन गरेको धरान उपमहानगरपालिकाले प्रायोजन गरेको हो। खेलको म्यान अफ द म्याच विजयी टिमका पूजन थापा घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्नसमेत सफल भए। 

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रतापसिंह राई घोषित भए। उनले एक थान होन्डाको डियो स्कुटर पुरस्कार पाए। गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो। प्लानिङका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर, एन्फा हेड अफ कोचसमेत रहेका सञ्जित सिंह उत्कृष्ट प्रशिक्षक, योगेश धिमाल उत्कृष्ट गोलकिपर घोषित भए।

चर्चका रोहन कार्की उत्कृष्ट मिडफिल्डर र अबोयामी फकुन्ले बेस्ट फरवार्ड घोषित भए। विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र भुटानका दुई टिमसहित यस पटक १० टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad