खेल


मानेबिनाको सेनेगललाई रोक्दै नकआउट पुग्ने दाउमा इक्वेडर

मानेबिनाको सेनेगललाई रोक्दै नकआउट पुग्ने दाउमा इक्वेडर

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:५३, काठमाडौँ

विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल आज रातिबाट सुरु हुँदैछन्। समूहको अन्तिम खेलमा राति ८ः४५ बजे समूह ए का चार टोलीबिच प्रतिस्पर्धा हुने छ। 

तालिकाको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्सले आयोजक कतारको सामना गर्दा अर्को खेलमा सेनेगल र इक्वेडर भिड्नेछन्। यसअघि पहिले खेलमा यी दुवै टोलीले कतारलाई पराजित गरेका थिए। 

सेनेगल नेदरल्याण्ड्ससँग पराजित हुँदा इक्वेडरले नेदरल्याण्ड्ससँग बराबरी गरेको थियो। यी दुई टोली बिचको विजेताले अघिल्लो चरण पक्का गर्दा अर्को टोली बाहिरिने सम्भावना छ।

तर यसमा नेदरल्याण्ड्सको नतिजामा पनि भर पर्छ। अन्तिम खेलमा नेदरल्याण्ड्सले कतरालाई पराजित गरे यो खेलको विजेता समूहको उपविजेता बन्दै नकआउटमा पुग्ने छ। 

इक्वेडर र नेदरल्याण्ड्स विजयी भएको अवस्थामा भने अन्तिम खेलको गोल अन्तरका आधारमा समूहको विजेता टुंगो लाग्नेछ। अहिले दुवैको समान ४ अंक र गोलअन्तर पनि बराबर छ।  अन्तिम खेल जसले बढी गोल अन्तरमा जित्यो उही समूह विजेता बन्ने छ। 

यता सेनेगललाई भने जित्नै पर्ने दबाब छ। विश्वकपका लागि कतार पुगिसकेका स्टार फरवार्ड साडियो माने घाइते हुँदै विश्व्कप गुमाउँदा सेनेगललाई थप दबाब छ। अघिल्लो चरण प्रवेशका लागि सेनेगललाई भने स्पष्ट जितको आवश्यकता छ। बराबरीले इक्वेडर अघिल्लो चरण पुग्ने छ। १ अंक कम भएको सेनेगल गोलअन्तरमा पनि पछि छ।   

यसअघि यी टोलीले दुई पटक मैत्रीपुर्ण खेल खेलेका छन्। २००२ मा सेनेगलले १–० को जित दर्ता गरेको थियो। २००५ मा २–१ सेनेगल नै विजयी भएको थियो। १७ वर्ष पछि हुने भेटमा धेरै परिवर्तन भइसकेको छ। 

सेनेगल भन्दा सहज अवस्थामा रहेको इक्वेडर आज ती हारको बदला लिँदै विश्वकपमा स्थान पक्का गर्न चाहन्छ। 

इक्वेडर चौथो पटक विश्वकपमा सहभागी भएको हो। यसअघि २०१८ मा छनौट हुन सकेको थिएन। २००२ मा पहिलो पटक सहभागी हुँदा समूह चरणबाटै बाहिरिएको थियो। २००६ मा नकआउट चरण प्रवेश गरेको थियो। सेनेगलको ठूलो उपलब्धि नै त्यहि हो। यसपटक पुनः नकआउटमा पुग्न नजिक छ। २०१४ मा भने समूहचरणबाटै बाहिरिएको थियो। 

सेनेगल तेस्रो पटक विश्वकप खेल्दै छ। पहिलो सहभागीतामा तहल्का मच्चाएको सेनेगलको १६ वर्ष पछिको विश्वकप भने सुखद हुन सकेन। २००२ मा क्वार्टर फाइनलमा पुगेको थियो। 

तर २०१८ को विश्वकप समूह चरणमै टुंगिएको थियो। चेल्सीका पहिलो रोजाइका गोल रक्षक मेन्डीलाई लिएर मैदान उत्रिने सेनेगल आज सुखद नतिजाको खोजिमा हुनेछ।  

इक्वेडरका लागि भने मुख्य हतियार आज पनि इनर भ्यालेन्सिया हुनेछन्। यसअघि उनले दुई खेलमा तीन गोल गरिसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .