ad ad

खेल


२० वर्षदेखि ब्राजिलका बाधक युरोपेली राष्ट्र

क्रोएसियालाई सर्वाधिक विजेता रोक्ने चुनौती
२० वर्षदेखि ब्राजिलका बाधक युरोपेली राष्ट्र

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार ९:५८, काठमाडौँ

एजुकेसन सिटी स्टेडियममा शुक्रबार साँझ क्रोएसियासँग भिड्दै ब्राजिल छैटौंपटक विश्वकप फुटबलको उपाधि जित्ने प्रयासमा हुनेछ। क्वार्टरफाइनल पुग्नुअघिको खेलमा ब्राजिलले क्रोएसियालाई कडा चेतावनी दिइसकेको छ। 

क्रोएसिया भने दक्षिण कोरियाविरुद्ध कठिन जितका साथ अन्तिम ८ मा पुगेको हो। निर्धारित समय र अतिरिक्त समयमा पनि जित हात पार्न नसकेको क्रोएसियाले पानाल्टी सुटआउटमा जापानलाई हराएको थियो। 

लगातार दोस्रोपटक क्वार्टरफाइनल पुग्ने क्रममा जापानलाई क्रोएसियाले ३–१ ले हराएको थियो। क्रोएसियन गोलरक्षक डोमिनिक लिभाकोभिकले जापानका ४ मध्ये ३ पेनाल्टी विफल बनाउँदै टोलीलाई अघिल्लो बाटो देखाए। 

क्रोएसियाले अन्तर्राष्ट्रिय फुटबलमा उच्चस्तरको खेल प्रस्तुत गरिरहेको छ। खासगरी ठूला खेलमा अप्रत्याशित नतिजा प्राप्त गरिरहेको छ। १९९८ मा तेस्रो स्थानका लागि भएको खेलबाहेक क्रोएसियाले ८ मध्ये ७ नकआउट खेल अतिरिक्त समयमा टुंगो लगाएको छ।

विश्वकपमा पछिल्ला ५ मध्ये ४ नकआउट खेल अतिरिक्त समयमा धकेलिएका छन्। तीन खेलमा पेनाल्टीमा क्रोएसिया विजयी भएको छ। १९९८ मा पहिलोपटक सहभागी हुँदा नै क्रोएसिया तेस्रो भएको थियो। २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग निर्धारित समय ९० मिनेटमै टुंगिएको थियो। जुन खेलमा क्रोएसिया ४–२ ले हारेको थियो। 

प्रशिक्षक डालिकको नेतृत्वमा क्रोएसिया अन्तिम १० खेलमा अपराजित छ। युरो २०२० यताका २० खेलमध्ये एउटामा मात्रै हारेको छ। 

विश्वकपमा क्रोएसियाको यो छैटौं सहभागिता हो। सन् २०१० बाहेक विश्वकपमा ऊ नियमित सहभागी भइरहेको छ। 

तर उसको लामो अपराजित यात्रामा ब्राजिलले शुक्रबार ब्रेक लगाइदिन सक्छ। ब्राजिल जारी विश्वकपमा उत्कृष्ट लयमा छ। अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। टिटेको टोली कोरियालाई ४–१ ले हराएर ऊ क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

खेल सुरु भएको ३६ मिनेटमै ब्राजिलले ४–० को अग्रता बनाएको थियो। भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पक्वेटाले गोल गरेका थिए। ७६औं मिनेटमा कोरियाका पाइक सेउङ हो ले सान्त्वना गोल गर्दै बिदा लिए। 

ब्राजिलले समूह चरणका ३ र नकआउटको एक गरी चार खेलमा ७ गोल गर्दा २ गोल खाएको छ। मुख्य खेलाडीलाई विश्राम दिने हुँदा समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हारे पनि पछिल्लो नतिजाले ब्राजिल उच्च मनोबलमा छ।

ब्राजिलको टिममा अहिले आत्मविश्वास बढ्दै गएको छ र खेलाडीहरु अब लगातार सातौं विश्वकपको क्वर्टरफाइनलको तयारीमा छन्। विगतका नतिजाले पनि ब्राजिललाई यसपटक सजग बनाएको छ। पछिल्ला ४ मध्ये ३ क्वार्टरफाइनलमा ब्राजिल हारेको छ। फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमसँग क्रमशः २००६, २०१० र २०१८ मा हारेको थियो। 

२००२ को विश्वकपको फाइनलमा जर्मनीलाई २–० ले हराएपछि पछिल्ला ५ नकआउट खेलमा ब्राजिललाई युरोपेली राष्ट्रले अघि बढ्न दिएका छैनन्। यद्यपि ब्राजिल क्रोएसियासँग भने पछिल्ला ४ भेटमा हारेको छैन। गत हप्ता क्यामरुनसँगको १–० को हार उनीहरुको अन्तिम १९ खेलपछिको एक मात्र हार हो। जसले शुक्रबारको भिडन्तमा ब्राजिल अब्बल रहेको पुष्टि गर्छ। 

साविक उपविजेतासमेत रहेको क्रोएसिया भने ब्राजिललाई रोक्दै ऐतिहासिक जित हासिल गर्ने दाउमा हुनेछ। यो खेलको विजेताले फाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र अर्जेन्टिनाको विजेतासँग भिड्नेछ। दोस्रो क्वार्टरफाइनल खेल नेपाली समयानुसार शुक्रबार राति १२:४५ बजे हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .