ad ad

खेल


अर्जेन्टिनासँग ८ वर्षअघिको बदला लिने दाउमा नेदरल्यान्ड्स

अर्जेन्टिनासँग ८ वर्षअघिको बदला लिने दाउमा नेदरल्यान्ड्स

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार ६:५०, काठमाडौँ

विश्वकप फुटबलका चिर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र अर्जेन्टिना आज राति १२:४५ बजे आमनेसामने हुँदै छन्। लुसेल रंगशालामा नेदरल्यान्ड्स ८ वर्ष पहिलेको हारको बदला लिने दाउमा हुनेछ भने लियोनल मेस्सीको टिम अर्जेन्टिना फेरि उसलाई निराश बनाउन चाहन्छ। 

लियोनल मेस्सीले तेस्रोपटक नेदरल्यान्ड्सविरुद्ध विश्वकप खेल्न लागेका हुन्। २००६ मा मेस्सीले विश्वकपमा डेब्यु गर्दा पनि नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए। समूह चरणको त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यतिबेला दुवै टोली  नकआउट पुगेका थिए। 

२०१४ मा अर्जेन्टिनाले सेमिफाइनलमा हराएपछि घर फर्किएको नेदरल्यान्ड्स ८ वर्षपछि विश्वकप खेल्न कतार पुगेको हो। २०१८ को विश्वकपमा छनोट भएको थिएन। ८ वर्षपछि फर्किंदा पनि पुरानै प्रतिस्पर्धी पाएको छ। 

नेदरल्यान्ड्सले नकआउटमा अमेरिकालाई ३–१ पराजित गरेको थियो। अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हरायो। ३६ खेलको अपराजित यात्रा यही विश्वकपमा आएर टुंग्याएको अर्जेन्टिना फेरि पुरानै लयमा फर्किएको छ।

पहिलो खेलमा साउदी अरेबियासँग अनपेक्षित २–१ को पराजय बेहोरेपछि उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट पुगेको थियो। अस्ट्रेलियाविरुद्ध कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजको गोलमा क्वार्टरफाइनलमा स्थान बनाएको हो।

खेलको सुरुमा हाबी भए पनि अन्ततिर लियोनल स्कालोनीको टिमले केही दबाबको सामना गर्नुपरेको थियो। ७७औं मिनेटमा इन्जो फर्नान्डेजलाई लागेर बल अर्जेन्टिनाको पोस्टमा पुग्यो। तर पनि २–१ को जितले अर्जेन्टिनाले चौथोपटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।

यसअघि २०१८ को विश्वकपमा अन्तिम १६ बाटै बिदा भएको थियो। नेदरल्यान्ड्स र अर्जेन्टिना छैटौंपटक विश्वकपमा भिड्न लागेका हुन्। समग्रमा ९ पटक खेलेका छन्। अन्तिमपटक २०१४ को विश्वकप थियो। जुन खेल निर्धारित समय र अतिरिक्त समयमा पनि गोलरहित भएको थियो। 

अर्जेन्टिनाका गोल रक्षक सर्जियो रोमेरोले उत्कृष्ट दुई प्रहार बचाउँदै टोलीलाई फाइनलमा पुर्‍याएका थिए। तर अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले हारेको थियो। 

यी दुई टोली पहिलोपटक १९७४ मा भिडेका थिए। त्यही वर्ष एउटा मैत्रीपूर्ण र अर्कोपटक विश्वकपमा भेट भएको थियो। त्यतिबेला दुवै खेलमा अर्जेन्टिनाविरुद्ध डच टोली हाबी भयो। मैत्रीपूर्ण खेल ४–१ ले जितेको नेदरल्यान्ड्स विश्वकपमा ४–० ले विजयी भयो।

तर ४ वर्षपछि विश्वकपमै अर्जेन्टिनाले बदला लियो। १९७८ को विश्वकपमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ३–१ ले हराएको थियो। दोस्रोपटक फाइनलमा पुग्दा अर्जेन्टिनाले उसको उपाधि जित्ने सपना चकनाचुर बनाएको थियो। दोस्रोपटक फाइनलमा पुगेको अर्जेन्टिनाले भने पहिलोपटक उपाधि जित्यो। 

पहिलोपटक फाइनलमा पुग्दा १९७४ मा नेदरल्यान्ड्स जर्मनीसँग हारेको थियो। पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले भने उपाधि जित्न सकेन। 

१९८६ मा अर्जेन्टिनाले दोस्रोपटक उपाधि जित्यो। अर्को विश्वकपमा जर्मनीसँगै हार्दै उपाधिबाट बाहिरियो। अर्जेन्टिना र नेदरल्यान्ड्स समान तीनपटक फाइनलमा पुगेर उपाधिविहीन भएका छन्। पाँचपटक फाइनलमा पुग्दा अर्जेन्टिनाले दुईपटक भने उपाधि जितेको छ। तर नेदरल्यान्ड्स सधैं खाली हात छ। 

१९९८ को विश्वकपमा पनि यी टोलीबिच क्वार्टरफाइनलमा भेट भएको थियो। त्यो खेलमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई २–१ ले हराएको थियो। 

पछिल्लोपटक नेदरल्यान्ड्स २०१० मा फाइनलमा पुगेको थियो। स्पेनले उपाधि जित्दा यो पटक पनि नेदरल्यान्ड्स निराश बन्नुपर्‍यो। अर्को विश्वकपमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुग्यो। उसलाई पनि जर्मनीले हरायो। 

१९८६ पछि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन। नेदरल्यान्ड्स ११औं पटक विश्वकप खेलिरहेको छ। अहिलेसम्म समूह चरणबाट बाहिरिएको छैन। दुईपटक सेमिफाइनलमा पुगेको छ। क्वार्टरफाइनलबाट एकपटक मात्रै बाहिरिएको छ। बाँकी चार विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको छ। 

१८औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिना यसअघि क्वार्टरफाइनलबाट चारपटक बाहिरिएको छ। सेमिफाइनलबाट भने बाहिरिएको छैन। यसपटक सेमिफाइनलमा पुग्ने टोली शुक्रबार साँझ हुने ब्राजिल र क्रोएसियाबीचको विजेतासँग फाइनल प्रवेशका लागि भिड्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .