ad ad

सुदूरपश्चिम


धनगढीका मेयर–उपमेयरबीच चर्काचर्की : मेरो अधिकार खै, मेयर सा’ब?

कर्मचारीले पनि हेपाहा व्यवहार गर्ने गरेको आरोप
धनगढीका मेयर–उपमेयरबीच चर्काचर्की : मेरो अधिकार खै, मेयर सा’ब?

यज्ञराज जोशी
असार २१, २०७९ मंगलबार ७:४८, काठमाडौँ

धनगढी उपमहानगरपालिकाको आठौं नगरसभाको तेस्रो बैठक सोमबार धनगढीमा सुरु भयो। सचिवका हैसियतले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बैठक प्रारम्भ गरे। श्रेष्ठलाई बैठकको अध्यक्षता गरिरहेका मेयर गोपाल हमाललाई सम्बोधन गर्दै बैठक सुरु गरिदिन अनुरोध गरे। 

‘पुरानो दायित्व तिर्ने र पुरानो योजनालाई निरन्तरता दिनुपर्ने भएकाले यसपटक हामीले ल्याएको बजेटमा पौने १० करोड रुपैयाँका योजना घटाएका छौं। आज कुन कुन शीर्षकमा बजेट काटियो अहिले सार्वजनिक गर्दछौं’, यत्ति भनेर बैठक सुरु भएको घोषणा गर्दै हमालले माइक श्रेष्ठलाई हस्तान्तरण गरे। 

लगत्तै उपमेयर कन्दकला रानाले आफू बोल्ने भन्दै माइक मागिन्।

त्यसपछि प्रत्यक्ष प्रसारण भइरहेको नगरसभामा एमालेका तर्फबाट जितेकी उपमेयर कन्दकला राना र स्वतन्त्र रूपमा निर्वाचित मेयर हमालबीच सवालजवाफ देख्न पाइयो। 

‘बजेट तर्जुमाको संयोजक उपप्रमुख हो। संविधानले दिएको यो अधिकार किन मिचियो’, रानाले नगरसभामा प्रश्न गर्दै भनिन्, ‘म विधि र प्रक्रियाको खोजीमा छु। यस बजेटमा मेरो गुनासो रह्यो। मैले आपत्ति जनाए। बजेटमा कुनै सरसल्लाह छैन। हाकिम साब (कार्यकारी अधिकृत) र मेयर साब बसेर अन्तै कार्यक्रम बनाउनुभयो। त्यसमा मेरो समर्थन रहेन।’

उपमेयर राना त्यत्तिमै रोकिइनन्। उनले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ र कर्मचारीले पनि आफूमाथि हेपाहा व्यवहार गर्ने गरेको आरोप लगाइन्। आफ्नो अधिकारको उपभोग नै गर्न नपाएको उनले बताइन्। 

‘हाकिम सापको फोन उठ्दैन। अलग्गै बसेर योजना निर्माण गर्नुहुन्छ। मञ्चको कार्यक्रममा उपप्रमुखलाई बोलाउनै हुन्न। यो कतिसम्मको हेपाहा प्रवृत्ति हो’, राना कड्किइन्, ‘उपमेयरको के दायित्व छैन? म कसैको सोर्सफोर्स लगाएर यहाँ आएको होइन्। आम जनताले पठाएको उपमेयर हो। मेरो अधिकार खै, देखाइदिनुपर्यो मेयर सा’ब?’

मेयर हमालले आफूलाई एकपल्ट पनि फोन गर्ने नगरेको, उद्योग वा कम्पनी जस्तै मेयरले उपमहानगर चलाउन खोजेको, योजना तर्जुमामा छलफल नै नगरेको, आफ्नो सचिवालयमा आजसम्म कर्मचारी नै व्यवस्था नगरिदिएको भन्दै आफ्नो अपहेलना भएको गुनासो उपमेयर रानाको थियो। 

‘यो कुनै कम्पनी र उद्योग होइन। हाकिम साप, जहिले पनि व्यस्त छु भन्ने, उपप्रमुखको कार्यकक्षमा आउन गाह्रो पर्ने’, उपमेयर रानाले भन्दै गइन्, ‘उहाँलाई दबाब हो वा उहाँले असहयोग गर्न खोज्नुभएको हो। अहिलेसम्म मेयरसाबसम्म मिलेर जाऔं भनेकी छु। म बाहिर जाँदा पनि हमेसा मैले उहाँलाई फोन गरेको छु। तर उहाँले एक कल गरेको रेकर्ड छैन। उपमेयर साब हामी बसेर छलफल गरेर अघि बढऔं भन्नुभएकै छैन।’

नोटबुकका टिपोटहरू हेर्दै उपप्रमुख रानाले मेयर हमालले लगाउने ‘हाम्रो धनगढी हामी बनाउछौं’ भन्ने नाराको पनि व्यंग्य गरिन्। उनले नारा सुन्दर भए पनि व्यवहारमा एकलौटी देखिएको बताइन्। 

‘सुन्दर नारा छ, तर एकलौटीपन छ। तर मैले हमेसा साथ दिएकी छु। अब हुन्छ सहकार्य, अब हुन्छ भन्यो छैन’, उनले गुनासो पोखिन्, ‘उपमेयरको सचिवालयमा अहिलेसम्म कर्मचारी छैन। सचिव छैन। नारायण शर्माज्यूलाई मैले धेरै अनुरोध गरे। हेर्नुस त कर्मचारीले पनि हेपेको प्रवृत्ति। अहिलेसम्म न आफू आउनुभयो न कसैलाई पठाउनुभयो।’ 

उपमहानगरपालिका कसैको नीजी संस्था नभएकाले झुपडीमा बसेको गरिब परिवार, समानुपातिक समावेशीको प्रतिनिधित्व हुने गरी १९ वटै वडामा भएका जनताको प्रतिनिधित्व हुन जरुरी रहेको कुरामा उनले जोड दिइन्। 

‘हाम्रो धनगढी हामी बनाउँछौं भन्ने नारा लगाउने तर एकतन्त्रीय प्रणाली लागू हुने? त्यसमा हाम्रो घोर आपत्ति छ। यसरी हामी नगरसभा चलाउन सक्दैनौं। आजको नगरसभा विधि र प्रक्रियाअनुसार नभएकाले म अगाडि बढ्न सक्दैन र कसैलाई पनि अगाडि बढ्नका लागि अनुरोध पनि गर्दैन’, नगरसभा बहिष्कारको ऐलानसहित उपमेयर रानाले आफ्नो भनाई टुंग्याइन्। 

उपमेयरले बोलिसक्ने बित्तिकै छेउमै बसेका मेयर गोपाल हमालले त्यही माइक समाते र उपमेयरले उठाएका हरेक सवालको जवाफ दिए। रानाले आफू बजेट बनाउँदा उपस्थिति नभएको भनी झुटो बोलेको र रुबस होटलमा आफैं बसेर बजेट बनाएको उत्तर हमालले फर्काए।

‘बजेट सबैले हेरेर बनाएको हो। यो बजेटमा उहाँ नै बसेको हो। उहाँ रुबस होटलमा सबैकुरा फाइनल गरेर आउनुभएको हो। हामी जहाँ बसेका थियौं, उहाँ मेडम आफै जानुभएको छ,’ हमालले भने, ‘बजेट यहाँ कार्यपालिकामा प्रस्तुत भयो। कार्यपालिकामा प्रस्तुत भएपछि १० अर्ब रुपैयाँ अतिरिक्त आयो। त्यसपछि उक्त बजेट कटौती गर्ने निर्णय अनुमोदन भएर विषयगत शाखाहरूले कटौती गरेका हो।’

उपमेयरलाई कार्यकक्षमा गई नभेटेको, फोन नगरेको कुरा सत्य भएको हमालले स्वीकारे। आफू कार्यकक्षमा हुँदा देखि लिएर गाडी चढ्दासम्म मान्छेहरूले घेरिएको हुने हुनाले फुर्सद नै नहुने जिकिर उनको थियो। 

‘गाडीमा चढ्दासम्म मान्छेहरू आइरहेका हुन्छन्। मैले उहाँहरूको कुरा सुन्ने कि नसुन्ने’, हमालले भने, ‘अनि मैले उहाँ (उपमेयर) सँग कुन बेला छलफल गर्ने? छलफल गर्ने कुनै एजेन्डा त हुनुपर्यो नि! उहाँले कुन दिन मलाई फोन गरेर मैले फोन उठाइनँ? मैले उहाँलाई फोन नगरेको पक्कै हो। कामै थिएन केही, किन गर्ने?’

हमालले कम्पनी चलाएजसरी उपमहानगरपालिका चलाएको आरोपको समेत खण्डन गरे। त्यस्तै उपमेयरले आफूहरू पार्टीवाला भएको भनी राखेको प्रसंगको पनि जवाफ दिए।  

‘उहाँले हामी पार्टीवाला हौं, हाम्रो पछाडि पार्टी छ भन्नुभयो। अनि म के टस्को लगाएर आएको हुँ। २६–२७ हजार जनताले भोट दिएर जितेको हो कि होइन’, हमालले भने, ‘विष वमन गर्ने काम नगरौं। द्वन्द्व बढायो भने बढ्छ। उहाँले अहिले सीधै मलाई कम्पनी चलाएको जस्तो होइन भन्नुभयो। अहिले तपाईंको पुरानो पेसाको कुरा मैले निकालदियो भने के हुन्छ? तपाईलाई चित्त दुख्दैन? म कुनै चोर, डाका कम्पनीबाट आएको हो? मैले राज्यलाई कर तिरेको छु। सयौंलाई रोजगारी दिएको छु। अनि मैले व्यवसाय नगर्ने? त्यो हिसाबले व्यक्तिगत रूपमा नजाऊँ।’

हमाल यत्तिमै रोकिएनन। उनले उपमेयरको गाडीले किचेर कुकुर मरेको गुनासो आफू कहाँ आए पनि आफूले त्यसको थामथुम पारेको तर उपमेयरलाई थाहा नदिएको बताए। उनले एकअर्कालाई दोष लगाउन भन्दा पनि बजेट किन काट्यौं, के के काटियो भन्ने छलफलमा जानुपर्ने र बैठक नै चल्न दिदैँनौं भने नचलाए हुने, आफ्नो मात्रै जिम्मेवारी नभएर सामूहिक जिम्मेवारी भएको बताए। 

‘रिपोर्टिङ मेयरले उपमेयरलाई गर्ने कि उपमेयरले मेयरलाई? त्योचाहिँ तपाईहरू भन्दिनुस्। म बिनाकाम कसैकोमा जान्नँ। जाने फुर्सद कुनबेला छ भन्या? त्यहाँभित्र दुलामा छिर्यो भने त्यहाँबाट बाहिर निस्कन पाउँदैन। त्यो परिस्थितिलाई बुझेर जिम्मेवार व्यक्तिहरू बोलिदिनुपर्यो तपार्इंको मनमा ठेस पुग्यो, हाम्रो पुगेन, मन त सबैको उस्तै हो नि’, हमालले भने, ‘उपमेयरलाई काम गर्न नदिने, पंगु बनाउनु मेरो उद्देश्य पनि होइन। अहिलेसम्म उहाँले मलाई कर्मचारी पाएको छैन भनेर भन्नुभएको पनि छैन। यहाँ कर्मचारीको कमी छैन। यो कम्युनिकेसन ग्याप मात्रै हो।’

यति सवालजवाफपछि केहीबेर धनगढीको नगरसभामा होहल्ला भएको थियो। त्यसपछि केही बेरका लागि स्थगित बैठक पुनः सञ्चालन भएको हो। 

यसअघि गत असार १० गते प्रस्तुत भएको धनगढी उपमहानगरपालिकाको आठौं नगरसभाको दोस्रो बैठकमा एक अर्ब ८३ करोडको बजेट पेस भएको थियो। उक्त बजेटमाथि छलफल र बजेट मिलानका लागि १० दिनको समय दिइएकाले सोमबार नगरसभाको तेस्रो बैठक बोलाइएको हो। 

उक्त बैठकमा आफूले राखेका योजनाहरू काटिएकामा मुख्य रूपमा असन्तुष्टि भए पनि उपमेयर रानाले २० बुँदे आरोपपत्र मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई लगाएकी थिइन्। सवालजवाफका क्रममा एमालेबाट विजयी नगरसभाका एक सदस्यले कुर्सी उचालेर समेत फालेका थिए। कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिहरूले भने बजेट पास गर्नुपर्नेमा जोड दिएपछि झण्डै ७ घण्टा चलेको बैठकले एमालेबाहेकका प्रतिनिधिबाट बहुमतले बजेट पास गरेको थियो। 

याे पनि : धनगढीमा हमाललाई पहिलो गासमै ढुंगा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .