कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा विकसित हुँदै गएको छ। पछिल्लो समय केरा खेतीका महत्त्वपूर्ण क्षेत्रका रुपमा विकास हुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेती हबका रुपमा विकास भएको हो। ल्याबमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवाले केरा उत्पादन बढ्ने भएपछि किसान त्यस्तो प्रविधिमा आकर्षित भएका हुन्।
राष्ट्रिय गौरवको आयोजना रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले केरा किसानहरूलाई अनुदान कार्यक्रममा सहयोग पुर्याइरहेको छ। अनुदान कार्यक्रमबाट किसानलाइ ‘टिस्यु कल्चर’ प्रविधिका केराका बिरुवा स्थानीयस्तरमा पाउन थालेपछि यसको खेतीमा किसानहरुको थप आकर्षण बढ्दै गएको छ। केरा खेतीका लागि प्रख्यात् टीकापुर क्षेत्रमै ‘टिस्यु कल्चर’ प्रविधिका बेर्नाहरु सहज रुपमा पाउन थालेपछि यहाँका किसानलाई सहज भएको छ।
टीकापुरका केरा किसान टेकेन्द्र धामीले पाँचवर्ष पहिलेबाट ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित बिरुवाका लागि हाइटेक नर्सरी निर्माण गरेका छन्। उक्त नर्सरीबाट उत्पादित बिरुवा टीकापुरलगायत नेपालका विभिन्न क्षेत्रमा बिक्रिवितरण हुने गरेको छ।
“मैले सुरु गर्दा नवलपरासीसम्म बिरुवा निर्यात गरेको थिए”, व्यवसायी धामीले भने, “अहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन अन्य ठाउँमा पनि सुरु भएपछि निर्यात घटेको छ।”
के हो टिस्युकल्चर प्रविधि?
‘टिस्यु कल्चर’ एउटा स्वास्थ्य विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो। कुनै पनि स्वास्थ्य विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इन्जिनियर (प्राविधिक) ले बिरुवा उत्पादन गर्दछन्। एउटा कोषलाई हाइटेक ल्याबमा नियमित ‘केमिकल’ को प्रयोग गरेर हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिने धामी बताउँछन्।
बिरुवाको कोषलाई हुर्काउन एउटा ल्याबमा ६ महिनासम्म लाग्छ। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ। तीन महिनासम्म ल्याबमा हुर्किएको बिरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो, त्यही ठाउँमा ‘ग्रिनहाउस’ निर्माण गरेर राख्ने गरिन्छ।
झण्डै तीन महिना ‘ग्रिनहाउस’ नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ। कृषि विज्ञ तथा रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार ‘टिस्यु कल्चर’ बिरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ।
“अत्याधुनिक बायोटेक ल्यावभित्र नियमित केमिकलको सहायताले हुर्किने हुनाले एक वर्षमा बिरुवा रोप्नको लागि तयार हुन्छ”, जोशीले भने, “नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले ‘टिस्यु कल्चर’ बिरुवा अन्यको तुलनामा रोग कम लाग्ने, फल बढी दिने, रोगसँग लड्ने क्षमता बढी हुने हुन्छ। त्यसकारण पनि किसानको यस खालको प्रविधिबाट केरा खेतीमा आकर्षण बढ्दै गएको देखिन्छ।”
यसरी ‘टिस्यु कल्चर’ प्रविधिबाट हुर्किएको बिरुवालाई विभिन्न देशहमा पुर्याउन सजिलो हुन्छ। निकै सानो आकारमा बिरुवा रहने भएकाले ढुवानीमा सजिलो हुने एकाइ प्रमुख जोशी बताउँछन्। केरा मात्र नभई फलफूलका अन्य बिरुवाहरु समेत ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गर्न सकिने जोशी बताउँछन्।
टीकापुरमा कसरी सुरु भयो ‘टिस्यु कल्चर’ बिरुवा?
उन्नत बीउ अभावका कारण अपेक्षाअनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका वडा नं. ४ का केरा किसान टेकेन्द्र धामीले केराको बिरुवा उत्पादनलाई प्राथमिकता दिए। सिँचाइ आयोजनाको समन्वयमा धामीले भारतको गुजरातस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट ‘टिस्यु कल्चर’ प्रविधिसम्बन्धी तालिम लिएर फर्केपछि यस प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन्। तालिमपश्चात् आयोजनाले हाइटेक नर्सरी निर्माणका लागि ५० प्रतिशत अनुदानमा धामीले ‘टिस्यु कल्चर’ बिरुवा उत्पादन सुरु गरेका थिए।
धामी आफूले यस क्षेत्रमै पहिलोपटक ‘टिस्यु कल्चर’ प्रविधिको बेर्ना बिरुवा लगाएको दाबी गर्छन्। केराको बिरुवा उत्पादन सुरु गरेका धामीको आम्दानी मात्रै राम्रो छैन, उनले स्थानीयस्तरमै बिरुवा उपलब्ध गराउँदा कैयौं युवा केरा खेतीमा आकर्षित भएका छन्।
“पहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केरा खेती हुन्थेन, अहिले निकै लोकप्रिय बनेको छ,” धामीले भने, “यो वर्ष रु. दुई लाख पचास हजार बेर्ना बिक्री गरेका थियौं।”
धामीका अुनसार अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बिरुवा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले किसानको आकर्षण बढ्दै गइरहेको छ।
‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता बढी हुँदा केराको उत्पादकत्व वृद्धि हुनाले यो प्रविधिमा किसानको निकै आकर्षण बढ्दै गएको केरा व्यवसायी हिक्मत विश्वकर्मा बताउँछन्। नर्सरीले उत्पादन गरिरहेका ‘विलयम’ र ‘जिनाइन’ जातका केरा कम समय र लगानीमा धेरै उत्पादनहुने गरेको केरा किसान बताउँछन्।
‘टिस्यु कल्चर’ प्रविधिका बिरुवाबाट छोटो समय र थोरै लगानीमा राम्रो उत्पादन पाएका छौं, केरा व्यवसायीका लागि यो प्रविधिनिकै लोकप्रियनै बन्यो,” केरा व्यवसायी विनोद शाहले भने, ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएसँगै यस क्षेत्रमा केरा किसानहरुको संख्या समेत थपिँदै गएको छ।”
कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले भने, “टीकापुरको हकमा यो प्रविधि भित्र्याउन आयोजनाले किसानलाई अनुदान समेत दिँदै आएका छौं।”
आयोजनाले किसानहरुलाई केराको बेर्ना खरिदमा ५० प्रतिशत अनुदानसमेत प्रदानगर्दै आएको एकाइ प्रमुख जोशी बताउँछन्। उनले आयोजनाले टीकापुरलाई केरा खेतीको हबका रुपमा विकास गर्नकै लागि वार्षिक अनुदान दिने गरिएको बताए।
Shares
प्रतिक्रिया