ad ad

सुदूरपश्चिम


डा. केसीको अनशनले गेटा मेडिकल कलेज सञ्चालन होला?

डा. केसीको अनशनले गेटा मेडिकल कलेज सञ्चालन होला?

गोकुल जोशी
असोज ७, २०७९ शुक्रबार ७:२१, कञ्चनपुर

कैलालीको गेटा मेडिकल कलेज बारम्बार चर्चामा आइरहन्छ। अहिले प्राध्यापक डा. गोविन्द केसीको अनशनले फेरि एकपटक गेटा मेडिकल कलेज चर्चामा छ।

सातबुँदे मागसहित कैलालीको धनगढीमा गत भदौ २७ मा केसीले २०औं अनशन सुरु गरे। प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहप्रदेशमा सत्याग्रह गर्दा माग सम्बोधनमा दबाब पुग्ने विश्वाससहित उनी धनगढी आएका थिए।

अनशनको ९औं दिन बितिसक्दा पनि उनको माग सम्बोधनका लागि काठमाडौंमा चलिरहेको वार्तामा कुनै सहमति हुन सकेको थिएन। 

यता अनशनको दोस्रो दिनमै स्वास्थ्य बिग्रिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएका डा. केसीको अवस्था जटिल बन्दै गयो।

बुधबार थप उपचारका लागि डा. केसी काठमाडौं गएका छन्। चिकित्सा क्षेत्र सुधारको डा. केसीका  सातबुँदे मागमध्ये एउटा ‘गेटा मेडिकल कलेज सञ्चालन’ पनि छ।

गेटा मेडिकल कलेज सञ्चालनको माग सडकदेखि सदनसम्मै चर्को छ। हरेक चुनावमा गेटा मेडिकल कलेज सञ्चालनको वाचा गरेर भोट माग्ने राजनीतिक दल सत्तामा पुगेपछि भने वाचा बिर्सिने गरेको यहाँका जनताको गुनासो छ। 

फलस्वरूप भौतिक संरचना निर्माण भइसक्दा पनि मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन। यस वर्षको नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख भए पनि आधारभूत संरचना तयारी अवस्थामा रहेको गेटा मेडिकल कलेज समेटिएको छैन।

गेटा मेडिकल कलेज सञ्चालनका लागि सरकारले आलटाल गरिरहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेय बताउँछन्। 

‘सम्पूर्ण संरचना तयार छन्, खानेपानीलगायत ५ प्रतिशत मात्रै काम बाँकी छ, यत्रो पैसा खर्च भएर बनेका संरचना जीर्ण बन्दै गएका छन्’, उनले भने, ‘सरकारले मेडिकल कलेज सञ्चालनमा आलटाल गरिरहेको छ, सुदूरपश्चिमलाई हेपिएको छ।’

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा लगेर देशकै पहिलो मेडिकल विश्वविद्यालयका रूपमा सञ्चालन गरिनुपर्ने उनको माग छ। 

‘हामी उपचारका लागि भारत तथा अन्यत्र धाउनुपरेको छ, हाम्रो पैसाले बनेको त्यत्रो मेडिकल कलेज वर्ष दिनदेखि खाली रहने? यो अनुचित र गलत काम हो, सरकारले यस्तो गर्न पाउँदैन’, उनी भन्छन्, ‘गरिब मान्छेबाट कर उठाएर संरचना बनाएर त्यतिकै खेर फाल्दिनु भनेको ठूलो अपराध हो, तत्काल सञ्चालन गर्नुपर्छ।’ 

प्रस्तावित गेटा मेडिकल कलेजमा ६ सय शय्याको अस्पताल भवन, प्रशासनिक र कलेज भवन एक वर्षभन्दा बढी भइसकेको छ। २०७१ असारमा मेडिकल कलेजको प्रशासनिक भवनको ठेक्का लागेको थियो। तर त्यस क्षेत्रमा पर्ने रुख कटानलगायत विवादले तत्काल काम अघि बढ्न सकेन। त्यसपछि ०७३ असारदेखि निर्माणले गति लिएको हो। 

मेडिकल कलेजको ८५ प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको पूर्वाधार निर्माण विकास समिति कार्यालयका कार्यकारी निर्देशक हेम पुजाराले बताए।

‘मेडिकल कलेजको ८५ प्रतिशत काम सम्पन्न भएको छ, ५/६ वडा भवन निर्माणाधीन अवस्थामा छन्, खानेपानी र बिजुलीको काम भइरहेको छ’, उनले भने, ‘अस्पताल मात्रै चलाउन केही समस्या छैन, भौतिक संरचनाको काम लगभग सकिएको छ, भित्र गर्नुपर्ने काम बाँकी छ।’

आर्थिक वर्ष २०८०/०८१ मा आयोजनाको काम सक्नुपर्ने समयावधि रहेकाले सो समयभित्रै काम सम्पन्न हुने उनको दाबी छ।

मेडिकल कलेज सञ्चालनका लागि राजनीतिक नेतृत्वमा इच्छा शक्ति नहुँदा सञ्चालनमा आउन नसकेको संघर्ष समितिका संयोजक पाठक बताउँछन्।

‘मेडिकल माफियाको पनि चलखेल भइरहेको छ, हाम्रा नेताहरूमा मेडिकल कलेज सञ्चालन गर्ने इच्छा शक्ति पनि देखिएन’, उनले भने, ‘सरकारले चाहेमा तत्कालै मेडिकल कलेज सञ्चालनमा आउँछ, त्यसका लागि हामीले पनि जनदबाब दिन सकेनौं जस्तो लाग्छ।’

भौतिक संरचना निर्माण भए पनि बिजुली, खानेपानीलगायत केही काम बाँकी रहेकाले अस्पताल सञ्चालन गर्न नसकिएको प्रस्तावित गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीले बताए।

‘बिजुली, बत्ती, ढल, खानेपानीको काम सकियो भने अस्पताल सञ्चालनका गर्न सकिन्छ’, उनले भने, ‘त्यसपछि हामी स्वास्थ्यकर्मी ल्याएर अस्पताल सञ्चालन गर्न सक्छौं, त्यसपछि बिस्तारै मेडिकल कलेजतिर जाने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .