ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा चाडपर्व लक्षित सुरक्षा योजना, गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन

कञ्चनपुरमा चाडपर्व लक्षित सुरक्षा योजना, गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन

गोकुल जोशी
असोज ११, २०७९ मंगलबार १८:५२, कञ्चनपुर

ठूला चाडपर्व सुरु भएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडबाड लक्षित सुरक्षा योजना लागू गरेको छ। चाडबाडको समयमा अपराधिक घटना बढ्न सक्ने भन्दै कञ्चनपुर प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचमा कडाई गरेको छ।

आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लामा दसैं तथा तिहार लक्षित सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले जानकारी दिए। 

मंगलबारदेखि पश्चिमी सीमा नाका गड्डाचौकीमा लिली नामक तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच गर्न थालिएको उनले बताए। 

चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले नाकामा कुकुरको प्रयोगका साथै सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको छ। 
गड्डाचौकी भारतसँग जोडिएको पश्चिमकै मूख्य नाका हो। यो नाका भएर दसैँ र तिहारका लागि दैनिक सयौं यात्रु स्वदेश भित्रिने गरेका छन्।

यस्तो बेला भारतबाट अपराधिक गतिविधि बढाउने खालका वस्तुहरु भित्रिन सक्ने भन्दै कुकुरमार्फत चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ।

यो नाका भएर प्रतिवन्धित वस्तु, हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध भित्रिन सक्ने भएकाले जाँचमा कडाई गरेको एसपी चौधरीको भनाई छ।

‘कसैले त्यस्ता पदार्थ झोलामा लुकाइछिपाई ल्याउन सक्छ। तालिमप्राप्त कुकुरले सुँघेर सजिलै पत्ता लगाइदिन सक्छ,’ उनले भने। 

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाबाट लिलीलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको हो। अहिले त्यहाँ यस्ता तालिमप्राप्त ६ वटा कुकुर रहेका छन्। 

‘गड्डाचौकी नाकादेखि खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेका छौँ,’ एसपी चौधरीले भने, ‘ यात्रुहरूको सहजताका लागि बस व्यवसायीहरूसँग समन्वय गरेर यातायात सेवामा सहजीकरण गरिराखेका छौँ।’

यो समयमा घर फर्किने र अन्य कामका लागि आवतजावत गर्नेहरुको बाक्लो भीड हुने भएकाले प्रहरीको गस्ती पनि बढाइएको उनले बताए। 

प्रहरीले राजमार्ग क्षेत्रमा चेकजाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .