सुदूरपश्चिम


नाउपा सुदूरपश्चिम दलको बैठक बस्दै, प्रदेश सरकारबारे छलफल हुने

नाउपा सुदूरपश्चिम दलको बैठक बस्दै, प्रदेश सरकारबारे छलफल हुने

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १२:४६, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक बस्दैछ। आइतबार दिउँसो २ बजे कैलालीको धनगढीस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। 

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम तथा फिर्ताको विषयमा बैठकमा छलफल गरेर निष्कर्षमा पुगिने आर्थिक मामिलामन्त्री समेत रहेका संसदीय दलका नेता घनश्याम चौधरीले बताए।

‘सबै सांसदहरुलाई बैठकमा बोलाइएको छ। प्रदेश सरकारका विषयमा छलफल हुन्छ’, उनले भने, ‘समर्थन कायम राख्ने अथवा फिर्ता लिने एउटा निष्कर्षमा पुग्छौँ।’

२१ फागुनमा सत्ता गठबन्धन फेरिएसंगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ। 

सरकार जोगाउन मुख्यमन्त्री कमल बहादुर शाहले दुई पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै नागरिक उन्मुक्तिका ७ सांसदमध्ये ५ जनालाई मन्त्री बनाएका छन्। 

नाउपाभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच गठबन्धनमा सामेल हुने विषयमा चर्को मतभेद छ।

अध्यक्ष रञ्जिताले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका छन्।

संरक्षक रेशमले कांग्रेससंग सहयात्रा गरेर सुदूरपश्चिम प्रदेश सरकार जोगाउन ४ मन्त्री नै अल्पमतको सुदूरपश्चिम प्रदेश सरकारमा पठाएका थिए।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको अवाश्यकता पर्दछ। सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८  र नागरिक उन्मुक्तिका ७ गरेर २५ सांसदको मात्रै समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .