ad ad

सुदूरपश्चिम


गठबन्धनको खड्गो टार्न ओलीले नरुचाएका सोडारी एमालेकै समर्थनमा मुख्यमन्त्री

एमालेमा हुँदा भीम रावलनिकट मानिन्थे
गठबन्धनको खड्गो टार्न ओलीले नरुचाएका सोडारी एमालेकै समर्थनमा मुख्यमन्त्री

गोकुल जोशी
बैशाख ६, २०८१ बिहिबार २०:२३, कञ्चनपुर

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सोडारीले बिहीबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन गरेको छैन। रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गरेका हुन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ। नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नाउपाका ७ (२ रञ्जिता पक्षीय), नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको सोडारीलाई समर्थन छ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारी सुदूरपश्चिमका चौथो मुख्यमन्त्री हुन। पहिलो कार्यकालमा स्थिर रहेको सुदूरपश्चिमले यसपटक आमनिर्वाचन भएको करिब डेढ वर्षको अवधिमै तीन सरकार पाइसकेको छ।

गठबन्धनको खड्गो टार्न मुख्यमन्त्री
सोडारीले मुख्यमन्त्री बन्न निकै चलाखी गरे। उनले नाउपाको विवादमा घुसेर सत्ता गठबन्धनलाई आफूअनुकूल बनाए।

प्रदेश प्रमुखले पहिलो पटक सरकारमा दाबी पेश गर्न आह्वान गर्दा वैशाख २ गते सोडारी एकीकृत समाजवादीलाई लिएर कांग्रेससँग मिल्न पुगे। र, नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरे।

उता सत्ता गठबन्धनबाट नाउपाकै रञ्जिता पक्षका कैलाश चौधरीको पनि दाबी पेश गरे। त्यतिबेला सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति बनेको थियो।

त्यसअघि नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिमको नेतृत्व दिने चर्चा थियो। नाउपाको अन्तरद्वन्द्व बुझेका सोडारी कांग्रेसतिर लागेर नाउपाकै रेशम पक्षलाई मुख्यमन्त्रीमा समर्थन गर्दा सत्ता गठबन्धनमै हलचल आयो।

जसले प्रदेशबाट बनेको वैकल्पिक गठबन्धन केन्द्रसम्म पुग्ने भयले एकीकृत समाजवादीलाई कांग्रेसतिर जानबाट रोक्न अन्य सत्तारुढ दलका शीर्ष नेतृत्वले नै दौडधूप गर्नु परेको थियो।

फलस्वरुप नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिमको नेतृत्व दिने गठबन्धन दलमा सहमति बन्यो। र, वैशाख ४ गते सोडारीले कांग्रेससँग मिलेर नाउपाको रेशम पक्षलाई गरेको समर्थन फिर्ता लिए। र, फेरि एमालेतिरकै गठबन्धनमा फर्किए।

तर यसबेला एमालेले बोली फेरेर सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लियो। जहाँ वैकल्पिक गठबन्धनको कसरत गरिरहेका नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा र माधव कुमार नेपाल भेटेर एकीकृत समाजवादीलाई सुदूरपश्चिम मुख्यमन्त्रीमा सघाउने चर्चापछि फेरि सत्ता गठबन्धन तंरगित बन्यो।

परिणामस्वरुप वैकल्पिक गठबन्धन बन्न नदिन अन्तिम समयमा आएर एमाले अध्यक्ष केपी शर्मा ओलीको अनिइच्छाबीच एमाले सोडारीलाई समर्थन गर्न तयार भएको थियो।

ओलीको कारबाही
ओलीले नरुचाएका सोडारी एमालेकै समर्थनमा सुदूरपश्चिम प्रदेशको बागडोर सम्हाल्न पुगेका छन्। नेकपाकालमा ओलीले सोडारीलाई कारबाही गरेका थिए।

२०७५ मा सोडारीलाई ओलीले नैतिक पतन हुने कार्य गरेको भन्दै अनुशासनको कारबाही गरेका थिए। त्यसबेला सोडारी तत्कालीन नेकपा नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री थिए।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सोडारीको अश्लील संवाद बालुवाटार पुगेको थियो।

एकजना महिलासँगको त्यो अश्लील संवाद सुनेपछि अध्यक्ष ओलीले उनलाई मन्त्रीबाट हटाउन निर्देशन दिएका थिए। र पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका थिए।

नेकपा एमाले कैलालीको अध्यक्ष हुँदै सोडारी नेकपाकालमा पनि कैलालीको प्रमुख थिए। त्यो जिम्मेवारी पनि खोसिएको थियो। नेकपाकालमा सोडारीविरुद्ध पार्टीमा आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको नेताहरु बताउँछन्।

नेकपा विभाजनपछि २०७७ मा नेकपाका एकजना अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वले सोडारीको कारबाही फुकुवा गरेको थियो।

‍त्यसपछि फेरि उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए।

नेकपा एमालेमा हुँदा सोडारी भीम रावलनिकट मानिन्थे। एमाले विभाजनमा उनले रावलको साथ छोडे।

रावल क्याम्पमा रहेर माधव कुमार नेपाल समूहका नेताको रुपमा चिनिने सोडारीले रावलको साथ छोडेर त्यसबेला एमालेका सांसदलाई एकीकृत समाजवादीमा लगेर प्रदेश सभाको सबैभन्दा ठूलो दल बनाएका थिए। त्यसबेलै पनि उनी एकीकृत समाजवादीको संसदीय दल नेता चयन भए।

सोडारी लगातार दुई पटक कैलाली निर्वाचन क्षेत्र नं. ४(१) बाट निर्वाचित भए। पहिलो पटक माओवादीको साथमा कांग्रेसका यज्ञराज चौधरीलाई हराएर प्रदेश सभामा प्रवेश पाए।

दोस्रो पटक एकीकृत समाजवादीका सोडारीले कांग्रेस, माओवादीको साथ लिएर एमालेका भीमबहादुर देउवालाई हराएर प्रदेश सांसद निर्वाचित भएका थिए।

सोडारीले ११ हजार ५११ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी एमालेका देउवाले ९ हजार ४४५ मत ल्याएका थिए। सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका ४ सांसद मात्रै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .