सुदूरपश्चिम


प्रकृतिको आभास दिलाउन ललितले गाउँमै करोड लगानीमा बनाए ‘लिटिल ग्रिनपार्क’

प्रकृतिको आभास दिलाउन ललितले गाउँमै करोड लगानीमा बनाए ‘लिटिल ग्रिनपार्क’

लक्ष्मी बलायर
कात्तिक १७, २०८१ शनिबार ९:१६, कञ्चनपुर

फुर्सद मिल्नेबित्तिकै सँगैका बालबालिका खेल्न दगुरिन्थे। तर, कञ्चनपुर, बेलडाँडीका ललित गिरी भने सानैदेखि फूलहरूसँग नजिकिए।

खासमा ललितका बुवा प्रेम गिरी फूलका सौखिन थिए। बुवाले रोपेका फूलहरूसँग ललित पनि रमाउँथे। अझ बुवासँगै मिलेर फूल स्याहार्ने उनको बानी थियो। स्कुलबाट फर्किएपछि उनलाई खाजा खानभन्दा फूलमा पानी हाल्न हतार हुन्थ्यो।

उमेर बढ्दै गयो। ललित स्वयं पनि गाउँघरतिर भइरहने भोजभतेर तथा अन्य कार्यक्रममा क्याटरिङ सेवासम्बन्धी व्यवसायमा लागे।

तर, उनको फूल र बोटबिरुवाप्रतिको मोह कहिल्यै कम भएन। त्यही मोहकै कारण यतिखेर उनले बेलडाँडी गाउँपालिका वडा नम्बर २, रौलेश्वरटोलमा ‘लिटिल ग्रिनपार्क’ सञ्चालनमा ल्याएका छन्।

‘गाउँभरि हाम्रो घरलाई फूलवाला घर भनेर चिनिन्छ,’ ललित भन्छन्, ‘बचपनदेखि नै बुवाआमा घरमा फूलहरू लगाउनुहुन्थ्यो। भाइ र म पनि फूल स्याहार्न खुब रमाउँथ्यौँ।’

सात वर्षको प्रयासपछि यो पार्क निर्माण सम्भव भएको उनको भनाइ छ।

‘परिवारकै सहयोगले यो पार्क बनाउन सफल भएको हौं,’ उनले भने, ‘यो पार्क बनाउन थालेको ७ वर्ष भइसक्यो। बोटविरुवा हुर्कन समय लाग्छ नि। अब २-३ वर्षमा यो पार्क झन् घना बन्छ।’

पार्कको चारैतिर अशोका बिरुवासहित पर्खालमा प्राकृतिक दुबो लगाइएको छ। साथै लहरे बोटविरुवा र फूलहरूले पार्कलाई झनै मनमोहक बनाएको छ। यसले घुम्न आउनेहरूलाई आनन्दित बनाउँछ।

पछिल्लो समय घुमघाम संस्कृति हुर्कँदै छ। घुमघाममा रमाउने पर्यटकलाई आकर्षित गर्ने ठाउँहरू पनि विस्तार हुँदै छन्। कञ्चनपुरमा पनि कृत्रिम कटेजदेखि पार्कहरू निर्माण भइरहेका छन्, जहाँ फोटो खिच्ने र टिकटक बनाउने रहरले पनि पर्यटकहरू घुम्न पुगिरहेका छन्। तर, कृत्रिम संरचनाबीच आफूले प्राकृतिक शितलता दिन यो पार्क बनाएको ललितको भनाइ छ।

उनले भने, ‘महेन्द्रनगरदेखि बेलौरीमा आर्टिफियल पार्कहरू त बनेका छन्। जहाँ पर्यटकले टिकटक बनाइरहेका छन्। तर, त्यहाँ हेर्न खोज्दा प्राकृतिक दृश्यहरू छैनन्। हाम्रो ग्रिनपार्क पूरै प्राकृतिक छ। पार्कभरि विभिन्न प्रजातिका फूलहरू र बोटबिरुवाहरू लगाइएको छ। यहाँ आएपछि आँखालाई शितलता होस् भनेर प्रकृतिलाई नै लक्षित गरेर बनाएको हुँ।’

ललितले आफ्नै घरछेउको १३ कट्ठा जमिनमा यो पार्क बनाएका हुन्। गिरीका अनुसार यो सुरुवात मात्र हो। अहिले प्राकृतिक पार्कसहित कटेज निर्माण गरिएको छ, जहाँ घुम्न आउनेले खाना र नास्तासमेत खान सक्छन्।

आगामी दिनमा यही क्षेत्रमा स्विमिङ पुल, सेमिनाल हल र पार्टी प्यालेस बनाउने उनको योजना छ।

‘पछि अरू सेवाहरू थप्दै जानेछौँ। हल, स्विमिङ पुलको निर्माण कार्य अघि बढिसकेको छ,’ उनले भने, ‘छिटै स्केटिङ खोलौं भन्ने योजना छ। बालबालिकालाई खेल्ने कुराहरू राख्ने व्यवस्था पनि हुँदै छ। पार्कमा आएपछि बच्चादेखि वृद्धसम्मले मनोरञ्जन लिन सकून् भन्ने हाम्रो लक्ष्य हो। भविष्यमा पार्टी प्यालेस पनि बनाइनेछ।’

हालसम्म पार्क बनाउन १ करोड रूपैयाँ लगानी भइसकेको समेत गिरीको दाबी छ। गिरीको बेलडाँडीमै टेन्ट हाउससहित मोबाइल ग्यालरी सञ्चालनमा छ। आफ्नै ठाउँमा केही उद्यम गर्न सकिन्छ कि भन्ने सोचका साथ यो काम सुरु गरेको उनले सुनाए।

धेरैजसो लगानीकर्ता सहरी तथा चहलपहल हुने क्षेत्रमा पार्क तथा रेस्टुराँ खोल्न चाहन्छन्। तर, उनले किन गाउँमा पार्क खोलेर बढी जोखिम लिए त?  

जवाफमा गिरी भन्छन्, ‘आफ्नै गाउँठाउँमा पहल गर्नु राम्रो हो। अब अलिकति जोखिम नलिएर केही पनि काम गर्न सकिँदैन। चल्ने नचल्ने कुरा त पछि छँदै छ। अहिले जुन टिकटक बनाउने र फोटो खिँच्ने ट्रेन्ड छ, त्यसैले बिस्तारै चल्छ भन्ने विश्वास छ।’

घटस्थापनाको दिनबाट यो पार्क सञ्चालनमा आइसकेको छ। टिकटको मूल्य प्रतिव्यक्ति २५ रुपैयाँ तिर्नुपर्छ प्रवेश शुल्क तिरेपछि जहाँ जति पनि समय बिताउन पाइन्छ। हालसम्म अवलोकनकर्ताहरूको राम्रो उपस्थिति रहेको उनको अनुभव छ।

उनले भने, ‘ओपनिङदेखि अहिलेसम्म राम्रै चलेको छ। घुम्ने र फोटो खिँच्नेहरू आइरहनु भएको छ। फोटो खिँच्नलाई विभिन्न सांस्कृतिक पोशाकहरू पनि ल्याइरहेको छु।’

ललितका बुवा पार्क निर्माणमा निकै खटिएका छन्। पार्क बनाउनसम्म बुवाले नै बढी सहयोग गरेको बताउँछन् उनी।

‘हाम्रो परिवारले लामो योजना बनाएर यो काम सुरु गरेका हौं। एकैचोटी बनाउनलाई लागत छैन। एक करोड लागिसक्यो। सात/आठ लाखकै त बोटविरुवा छन्। अस्ति बाढी आएर झन नोक्सान भयो,’ उनले भने ‘अहिलेलाई खाजानास्ताको लागि ४ जना कर्मचारी राखेका छौं। बाँकी हामी परिवार पूरै यसमा लागेको छ।’

यस पार्कले स्थानीयलाई मनोरञ्जनसहित वातावरण प्रवर्द्धन र अन्तरिक पर्यटनमा समेत सहयोग पुर्‍याउने उनको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad