कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि रुख कटानको काम धमाधम भइरहेको छ।
दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रुख कटानको कार्य भइरहेको हो।
इन्टरमोडल यातायात विकास समितिले ठेक्का प्रक्रियाबाट रुख कटानको काम गरिरहेको छ।
दुई सातादेखि रुख कटानको काम भइरहेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। दुई महिनाभित्र रुख कटानको काम सकेर सुक्खा बन्दरगाह निर्माणको लागि भारतलाई जमिन हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए।

‘अबको दुई महिनाभित्र रुख कटान सकेर निर्माणका लागि जमिन खाली गर्न सकिन्छ,’ गजुरेलले भने, ‘भारतले पनि ठेक्का प्रक्रियामै रहेको जनाएको छ, उता ठेक्का प्रक्रिया सकिँदा हामीले पनि जमिन खाली गरिसक्छौं।’
गौरीशंकर सामुदायिक वन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। निकुञ्ज प्रशासनको रोहवरमा रुख कटानको काम भइरहेको हो।
निर्देशक गजुरेलका अनुसार रुख कटानका लागि ४० लाखमा ठेक्का सम्झौता भएको छ। सम्झौताअनुसार मायापुरी सामुदायिक वनमा १ हजार ५ सय ९३ रुख कटान गरिनेछ।
भारतले बन्दरगाह निर्माणको लागि ठेक्का आह्वान गरेर प्राविधिक मूल्याङ्कनको काम गरिरहेको छ।

सुक्खा बन्दरगाहकै लागि नेपाल र भारत दुवैतर्फ पहुँचमार्गदेखि अन्य पूर्वाधार निर्माणाधीन अवस्थामा छन्।
नेपालतर्फ महाकाली नदीमा चार लेनको पक्की पुलसँगै गड्डाचौकीदेखि मलेरिया नालासम्म ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ। भारततर्फ राष्ट्रिय राजमार्गको चक्करपुर क्षेत्रबाट पहुँच मार्ग निर्माणको काम अन्तिम चरणमा छ।
भारत सरकारको पूर्ण लगानीमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो। बन्दरगाहको डीपीआरअनुसार प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेडलगायत निर्माण गरिनेछ।

भारतसँग भएको सम्झौता अनुसार निर्माण सुरु भएको तीन वर्षभित्र सुक्खा बन्दरगाहको काम सकिने छ। जसका लागि करिब ६ अर्ब खर्च हुने अनुमान गरिएको छ।
वर्षौदेखि बन्दरगाहको सपना बोकेका दोधारा चाँदनीसहित सुदूरपश्चिमका स्थानीय बासिन्दामा रुख कटान र भारततर्फबाट टेन्डर प्रक्रियाको थालिने आशा जागेको छ।
‘बन्दरगाह बन्ने भनेर सुनेको वर्षौ भइसक्यो। भारततिर काम भइरहेको छ। हाम्रोतिर बल्ल काम सुरु भयो,’ दोधारा चाँदनीका स्थानीय हरी भट्ट भन्छन्, ‘अब त बन्दरगाह निर्माण हुन्छ कि भन्ने आशा जागेको छ।’
Shares

प्रतिक्रिया